काठमाडौं — माघ २३ गते प्रदर्शनमा आउने प्रेमकथानक नेपाली फिल्म ‘कुमारी’ को प्रचार–प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ। रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले सङ्गीतमार्फत दर्शकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कन्सर्ट शृङ्खला सार्वजनिक गरेको हो।
सार्वजनिक तालिकाअनुसार कन्सर्ट माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा आयोजना हुनेछ। सबै कन्सर्टमा फिल्मका प्लेब्याक गायक केहरसिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले लाइभ प्रस्तुति दिनेछन्। युवापुस्तामाझ लोकप्रिय केहर र उनको ब्यान्डको उपस्थितिले फिल्मप्रतिको उत्साह अझ बढ्ने अपेक्षा गरिएको छ।
फिल्मका यसअघि सार्वजनिक गीतहरू ‘कता छौ…’ र ‘तिमी बिना…’ दर्शकमाझ चर्चामा छन्। कन्सर्ट सुरु हुनु अगावै लोक लयमा आधारित अर्को गीत सार्वजनिक गर्ने तयारी पनि निर्माण समूहले गरेको छ। फिल्मका सबै गीतमा केहरसिं लिम्बुको स्वर रहेको छ।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक फिल्म निर्देशन गरिसकेका दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’ भ्यालेन्टाइन डे आसपास रिलिज हुँदैछ। त्यसैले फिल्मले विशेषगरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ।
फिल्ममा नयाँ कलाकार अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायतको अभिनय रहेको छ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस फिल्मका निर्माता महेन्द्र अधिकारी र कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा पटकथा विकास सुवेदीले लेखेका छन्। छायांकन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। डिजिटल वितरण मोसन पिक्चर्सले सम्हालेको फिल्मको काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्नेछ।