विजय बरालसँग पर्दामा देखिँदै ‘एक्टर: टेक वन’का निर्देशक राजन भुसाल

0 Shares

काठमाडौं — लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली फिल्म ‘जिरो डिग्री’ मार्फत निर्देशक राजन भुसालले अभिनयमा डेब्यु गर्ने भएका छन्। यस फिल्मका कथाकार समेत रहेका भुसाल यसअघि निर्देशन गरेको ‘एक्टर: टेक वन’ बाट दर्शकमाझ परिचित छन्।

‘जिरो डिग्री’ को निर्देशन सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा गर्दैछन्। यी निर्देशकद्वयले यसअघि ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेर चर्चा कमाइसकेका छन्।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको पटकथा तथा संवाद निर्देशकद्वय काफ्ले र बरालले तयार पारेका हुन्। फिल्मको कथा सडक पहुँच नपुगेको एक दुर्गम गाउँमा केन्द्रित छ, जहाँ आमाबुवाको निधनपछि विदेशमा रहेका छोराछोरी आइपुगुन्जेल शव सुरक्षित राख्न डीप फ्रिज गाउँ भित्र्याएपछि उत्पन्न हुने अनौठा र उथलपुथलपूर्ण घटनाहरू प्रस्तुत गरिएको छ।

निर्देशकका अनुसार फिल्म केवल डीप फ्रिज गाउँसम्म पुर्‍याउने घटनामा सीमित नरही ‘डार्क कमेडी’ शैलीमा समाजका गहिरा यथार्थ र विडम्बनाहरू उजागर गर्ने प्रयास हो।

यसअघि सार्वजनिक गरिएको पोस्टरमा कलाकारको अनुहारभन्दा कथाको केन्द्रबिन्दु बनेको डीप फ्रिजलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।

फिल्मका कार्यकारी निर्माता मोती कार्की हुन्। ‘जिरो डिग्री’ हाल छायांकनको तयारी चरणमा रहेको छ र निर्माण टिम लोकेसन तय गर्न विभिन्न स्थानको अध्ययनमा जुटिरहेको छ। आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको यस फिल्मको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

निशाल पौडेलको छायांकन रहने फिल्मका गीतमा अङ्कित बाबु अधिकारीले संगीत भर्नेछन् भने ‘ऊनको स्वीटर’ को चर्चित गीत ‘काफ्ले’ का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।

सम्बन्धित समाचार

सबै