मधेस केन्द्रित फिल्म ‘प्रतिवैरम’को फर्स्टलुक पोस्टर सार्वजनिक

0 Shares

काठमाडौं — निर्देशक रोशन दासको निर्देशनमा बनेको नेपाली फिल्म ‘प्रतिवैरम’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित फिल्मको पोस्टरले यसको गम्भीर, भावनात्मक र शक्तिशाली कथावस्तुको संकेत गरेको छ।

सार्वजनिक पोस्टरमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजनमार्फत कथाको गहिराइ उजागर गरिएको छ। मुख्य कलाकार सम्राट दास र सुप्रज्ञा शर्माको सशक्त उपस्थिति पोस्टरको केन्द्रमा देखिन्छ, जहाँ संघर्ष, संवेदना र विद्रोहको भाव एकसाथ प्रस्तुत गरिएको छ।

पोस्टरमा सम्राट दास फरक र प्रभावशाली अवतारमा देखिएका छन्। उनको आँखाको भाव, शारीरिक भाषा र क्यारेक्टर लुकले पात्रभित्रको आक्रोश, संघर्ष र जिम्मेवारीलाई जीवन्त बनाएको छ। निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम’ सम्राट दासको डेब्यु फिल्म भए पनि यो भूमिका उनको करियरकै महत्वपूर्ण र सम्झनलायक बन्ने विश्वास लिइएको छ।

मुख्य अभिनेत्री सुप्रज्ञा शर्माको भावनात्मक प्रस्तुति पनि पोस्टरमा विशेष रूपमा उभिएको छ। उनको अनुहारमा झल्किएको पीडा, प्रेम र भरोसाले कथाको मानवीय पक्षलाई थप सशक्त बनाएको छ।

फिल्ममा सम्राट दास र सुप्रज्ञा शर्मासँगै बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिक्की शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह र रामेश बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मका सह–निर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल रहेका छन्। रेज इन्टरटेनमेन्टले किङ वाईटीसँगको सहकार्यमा निर्माण गरेको यस फिल्मका प्रोडक्सन म्यानेजर कमल सुनार हुन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन्। सम्पादन कविर वोडले गरेका छन्।

निर्देशक रोशन दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको हो। फिल्मको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन्।

निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको यो बहुभाषिक फिल्मको डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ।

सम्बन्धित समाचार

सबै