काठमाडौं — फिल्म ‘पीआर’ ओटीटी डिजिटल प्लेटफर्म एमएसएम भिडियो मार्फत रिलिज भएको छ। बिहीबारदेखि (आजबाट) एमएसएम भिडियोमा स्ट्रिमिङ सुरु भएसँगै अब यो फिल्म संसारभरका दर्शकले हेर्न सक्ने भएका छन्।
गत मंसिर २६ गतेदेखि नेपालका सिनेमा हलमा प्रदर्शनमा आएको ‘पीआर’ हलमा हेर्न नपाएका दर्शकलाई लक्षित गर्दै डिजिटल प्लेटफर्ममा ल्याइएको हो। ओटीटी रिलिजसँगै फिल्म अब घर–घरमा पुग्ने अपेक्षा गरिएको छ।
शोभित बस्नेतको निर्देशनमा बनेको यस फिल्मले नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरूले स्थायी आवासीय अनुमति (पीआर) प्राप्त गर्न भोग्नुपर्ने संघर्ष, सपना र चुनौतीलाई कथावस्तु बनाएको छ। फिल्मको अधिकांश छायांकन अस्ट्रेलियामै गरिएको छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पीआर’ मा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्कीको पनि अभिनय देख्न सकिन्छ।
फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको रहेको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका हुन्। बन्दे प्रसादको सम्पादन रहेको यस फिल्मको कथा तथा लेखन गणेश बुढाथोकीले गरेका छन्। फिल्मको वितरण आरआर फिल्म्सले गरेको हो।