‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ हेर्नुस् यस्तो देखियो सुशील र अञ्जनाको रोमान्स्

0 Shares

काठमाडौं — आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’ मा समावेश गीत ‘पाकेको चिउरी’ को भिडियो सार्वजनिक गरिएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो रिलिज गरेको हो।

ओएसएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईलीको दमदार नृत्य देख्न सकिन्छ। लोकलयमा आधारित गीतमा उनीहरूको केमेस्ट्री आकर्षक देखिएको छ भने भिडियोमा प्रेमकथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

फिल्मका निर्देशक विजय केरुङका अनुसार कथावस्तु सुहाउँदो गीत छनोट गरिएको हो। उनले भने, “फिल्मको कथाअनुसार नै गीत तयार गरिएको छ। गाउँघरको टिपिकल शब्द र भाव गीतमा समेटिएकाले दर्शकलाई मन पर्ने विश्वास छ।”

गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् भने छायांकन शिव ढकालले गरेका छन्। एसडी योगी र रेश्मा पुनको स्वर रहेको गीतमा संगीत स्वयं एसडी योगीकै रहेको छ। गीतका शब्द मौसम अर्यालले लेखेका हुन्।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘परिवर्तन’ मा सुशील श्रेष्ठ र अञ्जना बराईलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको पनि मुख्य भूमिका रहेको छ।

एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्मलाई विजय केरुङले निर्देशन गरेका हुन्। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन्। फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन् भने द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका हुन्। यसअघि सार्वजनिक टिजर र पोस्टरले दर्शकमाझ उत्सुकता बढाइसकेको फिल्मको वितरण जिम्मा आरआर फिल्म्सले लिएको छ।

सम्बन्धित समाचार

सबै