साइकोलोजिकल थ्रिलर ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक, माघ १६ मा रिलिज हुने

0 Shares

काठमाडौं — साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’ को टिजर सार्वजनिक गरिएको छ। मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत बिहीबार क्रिसमसको अवसर पारेर टिजर रिलिज गरिएको हो।

महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरले प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी उल्झनका विभिन्न पाटोलाई देखाउने प्रयास गरेको छ। अविश्वास, नियत र आक्रमणको वरिपरि घुम्ने कथामा पात्रहरू कसरी एक–अर्कालाई सिध्याउने मनोवैज्ञानिक खेल खेलिरहेका छन् भन्ने झल्को टिजरमा पाइन्छ।

टिजरमा प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधसँग जोडिएका श्रृंखलाबद्ध घटनाहरू प्रस्तुत गरिएको छ। प्रभावशाली ब्याकग्राउन्ड स्कोर र कलर टोनले सिनेमाको गम्भीर र रहस्यमय वातावरण झल्काउँछ। समग्रमा टिजरले दर्शकलाई साइकोलोजिकल थ्रिलको अनुभूति गराउने प्रयास गरेको देखिन्छ।

निर्माण टिमले टिजरसँगै चलचित्रको नयाँ रिलिज मिति पनि सार्वजनिक गरेको छ। यसअघि पुस १० गते प्रदर्शन गर्ने तयारी गरिएको यो चलचित्र अब माघ १६ गते रिलिज हुने भएको छ।

बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ मा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी प्रमुख भूमिकामा छन्। बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा पनि चलचित्रमा देखिनेछन्।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रका सह–निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माताका रूपमा जोडिएका छन्।

चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन्। आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

सम्बन्धित समाचार

सबै