काठमाडौं — नेपाली फिल्म तथा डिजिटल कन्टेन्टको रोचक समीक्षा गर्दै दर्शकमाझ बिटी कान्छा नामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब सिरिज ‘हरामी’ युट्युबमार्फत साप्ताहिक रूपमा प्रसारण भइरहेको छ। पाँच भागमा निर्माण गरिएको यो सिरिज हरेक शुक्रबार सार्वजनिक हुँदै आएको छ, जसको प्रत्येक भाग करिब २५ मिनेटको रहेको छ।
नेपालमा युट्युब प्लेटफर्ममा प्रायः छोरी–चेलीका पीडा र सामाजिक समस्यामा आधारित सिरिजहरूको बाहुल्य देखिँदै आएको बेला ‘हरामी’ भने युवा दर्शकलाई लक्षित गर्दै फरक स्वादको कन्टेन्ट लिएर आएको छ। घरेलु कथाभन्दा बाहिर निस्कँदै सिरिजले युवा पुस्ताको जीवनशैली, सोच, प्रेम, करिअर र सम्बन्धका विविध आयामलाई केन्द्रमा राखेको छ।
हालसम्म सार्वजनिक भएका भागहरूले सकारात्मक प्रतिक्रिया पाएको बिटी कान्छा बताउँछन्। उनका अनुसार पहिलो भागभन्दा दोस्रो र तेस्रो भागमा दर्शकको प्रतिक्रिया अझ उत्साहजनक देखिएको छ। सिरिजको कथा एउटा फ्ल्याटमा बस्ने तीन जना युवाको वरिपरि घुम्छ, जहाँ हरेक भागमा फरक–फरक विषयवस्तुलाई समेट्ने प्रयास गरिएको छ।
सिरिज निर्माणको प्रेरणाबारे खुलाउँदै बिटी कान्छाले पात्र निकुन श्रेष्ठको वास्तविक जीवनबाट आइडिया आएको बताए। कालिम्पोङबाट नेपाल आएर निकुनको घरमा बस्दा उनका बुबा–आमा अमेरिका रहेकाले उनी एक्लै बस्दै साथीहरूसँग स्वतन्त्र जीवन बिताइरहेको देखेपछि त्यसैलाई कथाको आधार बनाएको उनले स्पष्ट पारे।
‘फ्ल्याटमा बस्ने आइडिया निकुनकैमा बस्दा आएको हो। हरि र मिलन पात्रमा भने मेरा भारतका साथीहरूको आत्मा मिसिएको छ,’ बिटी कान्छा भन्छन्, ‘तीन पात्रको जीवनमा आउने साना मोडहरूलाई कथाको रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छु।’
भारतीय युट्युब च्यानल टीभीएफ र डाइस मिडियाका कन्टेन्टबाट प्रभावित भएको उल्लेख गर्दै उनले नेपालमा पनि युवा केन्द्रित कन्टेन्ट ल्याउने सोचबाट ‘हरामी’ जन्मिएको बताए।
सिरिजका प्रमुख पात्रमध्ये एक निकुन श्रेष्ठ सुरुदेखि नै यस योजनामा संलग्न थिए। उनका अनुसार ‘हरामी’ बनाउने सोच सन् २०२० देखि नै सुरु भएको थियो। मन प्रडक्सनसँग आबद्ध निकुन सिरिजका कार्यकारी निर्माता पनि हुन्। कोभिड महामारीका कारण ढिलाइ भए पनि सन् २०२५ मा आएर यो योजना मूर्त रूप लिन सफल भएको उनले बताए।
‘कोभिडकै समयमा युवा केन्द्रित सिरिज बनाउने योजना थियो, तर त्यसपछि कम्पनी फिल्म निर्माणतर्फ व्यस्त भयो,’ निकुन भन्छन्, ‘पछि बिटीसँग पुनः भेट भएपछि ‘हरामी’ अहिलेको स्वरूपमा तयार भयो।’
सिरिजमा सुरुदेखि नै सफल केसी र प्रतीक गुरुङ पनि जोडिएका छन्, जो फिल्म ‘हरि’का लेखक तथा निर्देशक हुन्। निकुन सिरिजमा कलाकार र निर्माता दुवै भूमिकामा देखिएका छन्। दुवै जिम्मेवारी चुनौतीपूर्ण भए पनि कास्ट र क्रुको सहयोगले काम सहज भएको उनको अनुभव छ। हरेक भागमा सेलेब्रिटी अतिथि कलाकारको उपस्थिति र सहज सुटिङ वातावरणलाई उनले सिरिजको विशेष पक्षका रूपमा उल्लेख गरे।
हालसम्म ‘हरामी’मा आना शर्मा र आयुष्मान देशराज जोशी अतिथि कलाकारका रूपमा देखिएका छन्। चौथो र पाँचौँ भागमा पनि चर्चित कलाकारको उपस्थिति रहने निर्माण पक्षले जनाएको छ। सिरिजका नियमित कलाकारमा निकुन श्रेष्ठ, ऋषिकेश बस्याल, शशांक बोहरा, रक्षा थापा र गौमाया गुरुङ रहेका छन्। निर्माण कम्पनीले पाँचौँ भागलाई विशेष कार्यक्रमसहित समापन गर्ने तयारी गर्नुका साथै दोस्रो सिजन ल्याउने योजना पनि अघि बढाएको छ।