‘बानी’ गीतको म्युजिक फिल्म सार्वजनिक

0 Shares

काठमाडौं — नेपाली सिनेमा क्षेत्रका चकलेटी नायक आर्यन सिग्देल अभिनीत नयाँ म्युजिक फिल्म ‘बानी’ सार्वजनिक गरिएको छ। प्रेम, दूरी र बिछोडका भावनालाई कलात्मक ढंगले प्रस्तुत गरिएको यो म्युजिक फिल्म ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार ‘बानी’को कन्सेप्ट पनि उनकै हो। भिडियोमा आर्यन सिग्देलसँगै करुणा श्रेष्ठ रोमान्टिक भावमा देखिएकी छन्। कथावस्तुले नेपालका एक युवक र सिक्किमकी एक युवतीबीचको प्रेम सम्बन्धलाई केन्द्रमा राखेको छ, जहाँ प्रेमपछि आउने उतार–चढाव र बिछोडको संवेदनशील मोडलाई भावनात्मक रूपमा चित्रण गरिएको छ।

म्युजिक फिल्ममा आर्यन सिग्देललाई फरक–फरक लुक्समा देख्न सकिन्छ। उनी रिसाहा र मायालु दुवै भावमा प्रस्तुत भएका छन्, जसले कथालाई थप गहिराइ दिएको छ।

यसअघि सार्वजनिक पोस्टर र टिजरमार्फत चासो बढाएको ‘बानी’मा संवाद लेखन दिनेश क्षेत्री र केशव भट्टराईले गरेका छन्। आर्यन र करुणासँगै सबिन कट्टेल र सुस्मिता श्रेष्ठको अभिनयले कथालाई अझ जीवन्त बनाएको छ।

उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सुब्रत आचार्यको निर्देशनमा तयार ‘बानी’लाई केवल प्रेमकथा मात्र नभई एउटा भावनात्मक म्युजिकल अनुभवका रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै