नेपालका आदिवासी जनजाति समुदायको भाषा, कला, संस्कृति, गीत–संगीत तथा फिल्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा फिल्म अवार्ड–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ।
चलचित्र विकास बोर्डको सहकार्यमा पुस १० गते काठमाडौंको चावहिलस्थित बोर्डको मुख्य हलमा कार्यक्रम आयोजना गरिएको हो।
समारोहमा देश तथा विदेशमा सक्रिय आदिवासी जनजाति समुदायका कलाकार, सर्जक तथा फिल्मकर्मीहरूलाई ३४ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा कविता आले, धिरेन शाक्य र राजेन्द्र खड्कीको उपस्थिति रहेको थियो।
क्वालिटी फिल्मस्द्वारा आयोजित उक्त अवार्ड समारोहको संयोजन उमेश गुरुङ र सनी लिम्बुले गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार अनिल गुरुङ तथा अग्रज गायक एवं संगीतकार कृष्ण गुरुङलाई विशेष सम्मान प्रदान गरिएको छ।
आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्दै नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।