यम शेर्पा भन्छन्— ‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ–सिर्जना थिए

0 Shares

 माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिरमिरे’ मार्फत दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी पुनः दोहोरिने भएको छ। यसअघि यो जोडी निर्देशक यम शेर्पाको फिल्म ‘कार्साङ’मा देखिएको थियो। संयोगवश, ‘मिरमिरे’ पनि ‘कार्साङ’कै निर्देशक यम शेर्पाले निर्देशन गरेका हुन्।

आफ्नो दोस्रो फिल्ममा पनि दयाहाङ र सिर्जनालाई नै दोहोर्‍याउनुको कारण खुलाउँदै निर्देशक यम शेर्पा भन्छन्, “एकपटक सँगै काम गरिसकेपछि त्यही कलाकारसँग काम गर्न सहज हुन्छ। पहिलो फिल्ममै कलाकारको काम गर्ने शैली, आनीबानी र सोच बुझिसकेको हुन्छ।”
उनका अनुसार दयाहाङ राई सर्वप्रिय नायक भएकाले दर्शकको रोजाइमा पर्नु स्वाभाविक छ भने सिर्जनासँग अघिल्लो फिल्ममै सहकार्य भइसकेकाले काम झन् सहज हुने अपेक्षा थियो।

यम शेर्पाले फिल्मको कथाले पनि दयाहाङ र सिर्जना जस्तै पात्र मागेकाले स्क्रिप्ट लेखनको सुरुदेखि नै उनीहरू आफ्नो दिमागमा रहेको बताए। “कथाको माग र अघिल्लो सहकार्यको अनुभवका कारण निर्देशक र मुख्य कलाकारबीचको त्रिकोणात्मक सहकार्य स्वाभाविक रूपमा दोहोरियो,” उनले स्पष्ट पारे।

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको ‘मिरमिरे’मा दयाहाङ र सिर्जनासँगै प्रकाश सपूत पनि मुख्य भूमिकामा छन्। दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। फिल्ममा शाइसा गौचनले दयाहाङकी छोरीको भूमिका निभाएकी छन्।

केही समयअघि सार्वजनिक टिजरले छोरीका लागि बुवाले गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ। आमाले घर छोडेपछि बुवा र छोरी मात्र रहने घरको कथा, सानी छोरीको स्याहार, घर–व्यवहार, स्कुल र जागिरलाई एक्लै सम्हाल्ने बुवाको संघर्ष टिजरमा देखाइएको छ। छोरीप्रतिको बुवाको कर्तव्य र छोरीले बुवाप्रति गर्ने माया नै फिल्मको भावनात्मक केन्द्र हो।

छोरीका लागि बुवाले गर्ने त्याग र बुवाप्रति छोरीको निस्वार्थ प्रेमको कथाले दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त छ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, शाइसा गौचनसँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् भने सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल कार्यकारी निर्माता रहेका छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।

सम्बन्धित समाचार

सबै