फिल्म ‘बिगुल’को जागरण गीत ‘आउ यस्तो देश बनाऔँ’ सार्वजनिक

0 Shares

काठमाडौं, १३ पुस ।
फिल्म ‘बिगुल’मा समावेश जागरण गीत ‘आउ यस्तो देश बनाऔँ’ आइतबार सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द तथा संगीत रहेको गीत गायक राजेश पायल राईले स्वर दिएका हुन्। गीतमा फिल्मका सबै प्रमुख कलाकारको उपस्थिति रहेको छ।

रमेश कोइरालाको निर्देशन तथा दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ आगामी माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतले देशप्रेम, राष्ट्रभक्ति, समावेशीता, शान्ति र जनजागरणको सशक्त सन्देश बोकेको निर्माण पक्षको भनाइ छ।

गीतको भिडियोमा राष्ट्रिय झण्डासहित सुशासन, विकास र शान्तिको सन्देश फैलाउँदै कलाकारहरू घरदैलो जागरण अभियानमा सहभागी भएको दृश्य प्रस्तुत गरिएको छ। देश आम निर्वाचनतर्फ उन्मुख भइरहेका बेला गीत सार्वजनिक गरिएकाले यसले समसामयिक चुनावी माहोलको झल्को दिने निर्माण पक्षको दाबी छ।

कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मका फर्स्टलुक पोस्टर, टिजर र युगल गीतले यसअघि नै दर्शक तथा स्रोताको ध्यान तानेका छन्। निर्माण पक्षका अनुसार गीतले आम नागरिकको आवाजलाई कलात्मक रूपमा मुखरित गरेको छ।

निर्देशक रमेश कोइराला भन्छन्, “‘बिगुल’ भुइँमान्छेको कथा र समृद्ध नेपालको कल्पनालाई आह्वान गर्ने फिल्म हो। देशको समसामयिक घटनाक्रम र राजनीतिक विषयवस्तुमा आधारित भए पनि फिल्म पूर्ण रूपमा व्यावसायिक उद्देश्यसहित निर्माण गरिएको छ। समाज जागरणको सन्देशसँगै भरपूर मनोरञ्जन प्रस्तुत गर्ने हाम्रो प्रयास हो।”

जेन्जी आन्दोलनप्रति समर्पित भनिएको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानसिंह शर्मा लगायतको अभिनय रहेको छ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्मका सह–निर्माता महेश कोइराला र सूर्यकान्त कोइराला हुन्। प्रदीप भारद्वाज र मौनता श्रेष्ठले पटकथा तथा संवाद लेखेका छन्। शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनभी महर्जनको द्वन्द्व निर्देशन तथा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन्।
फिल्म राजधानीभित्र काफिया फिल्म्स र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै