आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न, भुपेन्द्र रिखाम मगर अध्यक्षमा निर्वाचित

0 Shares

काठमाडौँ । चलचित्र विकास बोर्डको सहकार्यमा आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेशको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार (२०८२ पुस १२ गते) काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भएको छ।

तत्कालीन अध्यक्ष रेशम कुमार श्याउली तामाङको सभापतित्वमा सम्पन्न अधिवेशन नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय तथा चलचित्र विकास बोर्डको सहयोगमा आयोजना गरिएको हो।

कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, आदिवासी जनजाति चलचित्र महासंघ संघीय समितिका प्रमुख सल्लाहकार अमृत सुनुवार, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा विशेष अतिथिका रूपमा रोशी गाउँपालिकाका पूर्व अध्यक्ष डि.वि. मोक्तानको उपस्थिति रहेको थियो।

यसैगरी मगर चलचित्रकर्मी संघ नेपालका अध्यक्ष विकास आले मगर (विश्वास), गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष राजेश गुरुङ, नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष नन्दा घर्ती मगर, मगरात नेपाल टेलिभिजनका अध्यक्ष युकेश मगरलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, फिल्मकर्मी तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आदिवासी जनजाति मातृभाषी फिल्मकर्मीहरूको क्षमता अभिवृद्धिका लागि चालु आर्थिक वर्षमा बोर्डले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। गत वर्ष १४ वटा मातृभाषी समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गरिएको स्मरण गराउँदै उनले यस वर्ष १५ वटा मातृभाषी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए। मातृभाषामा निर्माण हुने फिल्मले नेपाली फिल्म उद्योगको विविधता, मौलिकता र पहिचानलाई थप सुदृढ बनाउने उनको भनाइ थियो।

अधिवेशनका क्रममा तामाङ फिल्म ‘तामाङला कोला’ र तामाङ लघु फिल्म ‘हृदयमा पिवा’को विशेष प्रदर्शन गरिएको थियो। प्रदर्शन अवलोकन गर्न कलाकार, फिल्मकर्मी तथा कला–प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै भुपेन्द्र ब. रिखाम मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

नवनिर्वाचित कार्यसमिति
अध्यक्ष : भुपेन्द्र ब. रिखाम मगर
वरिष्ठ उपाध्यक्ष : (रिक्त)
उपाध्यक्ष : पुष्पाञ्जली टिलिङ लिम्बु
उपाध्यक्ष : सुस्मिता लाम्छाने गुरुङ
उपाध्यक्ष : सुनजित माझी
महासचिव : नेत्र ब. भुजेल
सचिव : मानिका सिङ्तान
सचिव : बल कुमार राई
कोषाध्यक्ष : (रिक्त)
सह–कोषाध्यक्ष : गोपाल पुन मगर (शिङ्ग्रोन)

सदस्यहरू
सुमित्रा बुढा मगर
भावना भुजेल
राजु राई
बिमला भुजेल
ममता माझी

महासंघका अनुसार हालसम्म १३ जना निर्वाचित भइसकेका छन् भने दुई जनाको सिफारिस प्राप्त भइसकेको छ। अन्य सिफारिस प्रक्रिया जारी रहेको जनाइएको छ।

कार्यक्रममा निवर्तमान अध्यक्ष रेशम कुमार श्याउली तामाङले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेका छन्। कार्यक्रममा उनलाई धन्यवाद व्यक्त गर्नुका साथै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो।

नवनिर्वाचित अध्यक्ष भुपेन्द्र ब. रिखाम मगरले सबै पदाधिकारी र सदस्यहरूले आ–आफ्नो भूमिकाबाट संस्थागत जिम्मेवारी पूरा गर्दै आदिवासी जनजाति फिल्मको प्रवर्द्धन, संरक्षण र विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै