चितवन । कालिका नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा फिल्म साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चोया डिजिटल सोलुसनको आयोजनामा तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा सम्पन्न कार्यक्रम फिल्म विकास बोर्ड र कालिका नगरपालिका–चितवनको सहकार्यमा २०८२ पुस १३ गते आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयका करिब १५० जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूमा फिल्मप्रतिको सचेतना बढाउने, आलोचनात्मक दृष्टिकोण विकास गर्ने र सिर्जनात्मक सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता लक्ष्मण पौडेल, चोया डिजिटल सोलुसनका अध्यक्ष राजकुमार सिलवाल, फिल्म पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, विद्यालयका प्रधानाध्यापक प्रेम अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर गुरुङ, वडा सदस्य चित्रबहादुर भण्डारी, फिल्म निर्देशक अमरदीप सापकोटा, पत्रकार प्रविन किराँती र प्रेम पौडेललगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षक–शिक्षिकाको पनि उल्लेखनीय सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तथा नगर प्रवक्ता लक्ष्मण पौडेलले डिजिटल युगमा फिल्म शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, सामाजिक चेतना र अभिव्यक्तिको क्षमता विकासमा सकारात्मक भूमिका खेल्ने बताए।
चोया डिजिटल सोलुसनका अध्यक्ष राजकुमार सिलवालले विद्यालय तहबाटै फिल्म साक्षरताको सुरुवात आवश्यक रहेको धारणा व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अन्य विद्यालयहरूमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिए।
फिल्म पत्रकार संघका महासचिव रघुनाथ सापकोटाले फिल्मलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई शिक्षा, चेतना र सामाजिक परिवर्तनको प्रभावकारी साधनका रूपमा बुझ्न विद्यार्थीहरूलाई आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक प्रेम अधिकारीले विद्यालयमा यस्ता ज्ञानमूलक तथा व्यवहारिक कार्यक्रम आयोजना भएकोमा खुशी व्यक्त गर्दै आयोजक र सहकार्य गर्ने सबै निकायप्रति आभार प्रकट गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर गुरुङले पनि कार्यक्रमले विद्यार्थीहरूको सोच र दृष्टिकोणलाई फराकिलो बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमपछि सहभागी विद्यार्थीहरूले फिल्म साक्षरता कार्यक्रमले फिल्म बुझ्ने, विश्लेषण गर्ने र सिर्जनात्मक रूपमा प्रयोग गर्ने सीप विकासमा सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।