फिल्म ‘आ बाट आमा’को शीर्ष गीतमा कभर सङ र अभिनय प्रतियोगिता, विजेतालाई ५० हजार पुरस्कार

0 Shares

काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’मा कभर सङ गाउने वा अभिनय गर्ने सहभागीले ५० हजार रुपैयाँ जित्ने अवसर पाउने भएका छन्। निर्माण टिमले सोमबार उक्त गीतलाई लिएर कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको हो।

प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर सङ गाउनुपर्ने छ भने अभिनयमा रुचि राख्नेले अभिनय प्रस्तुत गर्नुपर्नेछ। सहभागीले आ–आफ्नो विधाअनुसार भिडियो निर्माण गरी माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्नेछ। सो अवधिसम्म अपलोड भएका भिडियोहरूलाई मात्र प्रतिस्पर्धामा समावेश गरिने निर्माण पक्षले जनाएको छ।

निर्देशक चन्द्र पन्तका अनुसार उत्कृष्ट अभिनयसहितको भिडियो चयन गरी माघ १४ गते विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागीले भिडियो अपलोड गर्दा ओएसआर डिजिटलको टिकटक अकाउन्ट @osrdigitalnp मेन्सन गर्नुपर्ने उनले जानकारी दिए।

आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म **‘आ बाट आमा’**को उक्त गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ। निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

फिल्मको संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन्। कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ भने छायांकन डीओपी नवराज उप्रेतीले गरेका छन्।

अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।

नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा छ। फिल्म आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार

सबै