स्रष्टा केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण, साहित्यिक मूल्य र प्रयोगवादमाथि चर्चा

0 Shares

काठमाडौँ । बेलायतमा बसोबास गर्दै युद्ध साहित्यमार्फत आफ्नो पहिचान बनाएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ आइतबार लोकार्पण गरिएको छ। मिलाप पब्लिकेशनको आयोजनामा तथा अनेसास दर्पणको संयोजनमा ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा कृतिको लोकार्पण सम्पन्न भएको हो।

कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीले गर्नुभएको थियो।

प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले प्रचार र हल्लाका भरमा चर्चित बनेका कतिपय साहित्यकारहरूको दीर्घकालीन अस्तित्व नहुने टिप्पणी गर्नुभयो। उहाँले काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा निरन्तर लागिरहने स्रष्टाहरूको गन्तव्य सुनिश्चित हुने उल्लेख गर्दै पुरस्कार, प्रतियोगिता र प्रचारमा मात्र निर्भर सर्जकहरूको भीडभन्दा केदार सङ्केत फरक देखिएको धारणा व्यक्त गर्नुभयो। प्रयोगवादी शैली, विषयवस्तुको विविधता र कथानकको गम्भीरताका कारण सशक्त कृतिले समयसँगै आफैं मूल्याङ्कन पाउँदै चर्चा पाउने उहाँको भनाइ थियो।

कृतिमाथि समीक्षा गर्दै साहित्यकार प्रगति राईले केदार सङ्केतका कथाहरू फरक धारमा आएको उल्लेख गर्दै यथार्थवाद र प्रयोगवादको संयोजन देखिने बताउनुभयो। कृतिका रूपमा प्रकाशित हुँदा कथाहरू पर्याप्त परिमार्जित र परिष्कृत बनेको उल्लेख गर्दै उहाँले आगामी लेखन अझ सशक्त होस् भनी शुभकामना व्यक्त गर्नुभयो।

कीर्तिमानी सङ्गीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठले सन्तान जन्मिनु र कृति जन्मिनु उस्तै अनुभूति हुने बताउँदै आकर्षक कलेवर र साजसज्जासहित प्रकाशित पुस्तकमा मूर्धन्य साहित्यकारहरूको सहभागिताले कृतिको स्तरीयता पुष्टि गर्ने धारणा राख्नुभयो। उहाँले केदार सङ्केतका कलात्मक प्रस्तुति नेपाली साहित्यको समृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

सभापति खेमनाथ दाहालले प्रस्तुत कथाहरू नयाँ शैलीमा लेखिएको उल्लेख गर्दै आफू ती कथाबाट गहिरो रूपमा प्रभावित भएको बताउनुभयो र विस्तृत समीक्षात्मक मन्तव्य राख्नुभयो।

कृतिकार केदार सङ्केत भौतिक रूपमा उपस्थित हुन नसके पनि भिडियो कलमार्फत मन्तव्य व्यक्त गर्दै लेखकले सिर्जनामार्फत आफ्ना विचार अभिव्यक्त गर्ने भएकाले धेरै बोलिरहनु नपर्ने धारणा राख्नुभयो। पाठकको प्रतिक्रिया नै लेखकका लागि ठूलो पुरस्कार भएको उल्लेख गर्दै प्राप्त प्रतिक्रियाका आधारमा आगामी लेखनकर्म परिमार्जन गर्दै अघि बढ्ने उहाँले बताउनुभयो।

सो अवसरमा रचना साहित्यिक द्वैमासिकका सम्पादक प्रतीक घिमिरे, साहित्यकार तथा सुनुवार सेवा समाजका उत्तम कातिजलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा गणेश थापा, विष्णुबहादुर बस्नेत, उमेश शर्मा, उत्तमकुमार सुनुवार, सानु श्रेष्ठ, सोजुहाङ किराँत, गंगाप्रसाद भेटवाल, जयराम बिडारी, अक्कल कुँवरलगायत लेखक तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रम मिलाप मासिकका सम्पादक कृष्ण भुसालको मन्तव्यसहित सम्पन्न भएको थियो।

सम्बन्धित समाचार

सबै