काठमाडौँ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी पुराना फिल्म डिजिटाइजेशनका लागि आवेदन आह्वान गरेको छ।
चलचित्र विकास बोर्ड, चाबहिल काठमाडौँले प्रकाशित गरेको सूचनाअनुसार सेलुलोइड प्रविधिमा निर्माण भई हालसम्म डिजिटल स्वरूपमा रूपान्तरण नभएका स्वदेशी फिल्मलाई डिजिटल माध्यममा सुरक्षित राखी संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
यस कार्यक्रममा सहभागी हुन इच्छुक फिल्म निर्माता वा सम्बन्धित अधिकार प्राप्त व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बोर्डले तोकेको ढाँचामा आवेदन पेश गर्नुपर्नेछ। डिजिटाइजेशन प्रक्रियासम्बन्धी शर्त, आवेदन फाराम तथा आवश्यक विवरण चलचित्र विकास बोर्डको आधिकारिक वेबसाइट तथा बोर्डको सूचना पाटीमा उपलब्ध रहेको जनाइएको छ।
यस सम्बन्धमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी फिल्महरू नेपालको सांस्कृतिक र ऐतिहासिक धरोहर भएको उल्लेख गर्दै तिनको डिजिटाइजेशन अत्यावश्यक रहेको बताए। अध्यक्ष डिसीले भने,
“पुराना स्वदेशी फिल्महरू केवल मनोरञ्जनका साधन मात्र होइनन्, ती हाम्रो समाज, समय र इतिहासका महत्वपूर्ण दस्तावेज हुन्। डिजिटाइजेशनमार्फत यस्ता फिल्मको संरक्षण गर्नु आजको आवश्यकता हो। यस कार्यक्रमले हराउँदै गएका फिल्मलाई सुरक्षित राख्दै नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुग्नेछ।”
चलचित्र विकास बोर्डले यस कार्यक्रममार्फत पुराना स्वदेशी फिल्मको दीर्घकालीन संरक्षण, अध्ययन–अनुसन्धान तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली फिल्मको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
