काठमाडौं । नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई केन्द्रमा राखेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन्।
विश्व बजारमा लोकप्रिय सिट्कम कमेडी शैलीलाई नेपाली माटो सुहाउँदो रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘लट्ठक’ ले दर्शकलाई शुद्ध मनोरञ्जन दिनुका साथै समसामयिक सामाजिक विषयमाथि व्यङ्ग्यात्मक चेतना फैलाउने प्रयास गरेको छ।
सागर ज्ञवालीको परिकल्पना तथा निर्देशनमा बनेको यो वेब सिरिज उनका लागि निर्देशन यात्राको महत्त्वपूर्ण उपलब्धि मानिएको छ। विद्यालय जीवनदेखि नै निर्देशनप्रति रुचि राख्दै आएका ज्ञवालीले ‘लट्ठक’ लाई आफ्नो औपचारिक निर्देशन डेब्युका रूपमा लिएका हुन्। चार वर्षअघि पहिलो पटक वेब सिरिज निर्देशन गरेका उनले यसबीच करिब सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। हाल उनी चलचित्र ‘मालती मंगले’ को निर्माणमा व्यस्त छन्।
निर्देशक ज्ञवालीका अनुसार कहिलेकाहीँ अरूको सपना पूरा गरिदिनु पनि जरुरी हुने भएकाले आफू चलचित्र निर्माणमा संलग्न भएको बताउँछन्। तर, अब भने निर्देशनमै निरन्तर अघि बढ्ने उनको योजना छ। दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भए ‘लट्ठक’ को दोस्रो सिजन पनि निर्माण गरिने उनले जनाएका छन्। साथै, छिट्टै आफ्नै निर्देशनमा नयाँ चलचित्र घोषणा गर्ने तयारीसमेत भइरहेको छ। वेब सिरिज ‘लट्ठक’ म्युजिक नेपालको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
नेपाली ग्रामीण परिवेशका पात्रहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको यस सिरिजमा अनुभवी र नयाँ कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। सिरिजमा सुभाष गजुरेल, अभय राज बराल, शकु शाह, कविता आले, रोकीत कार्की, रणजीत राणा, रोहित खत्री, शिला खनाल, जीवन जङ्ग थापा, दिवस विक्रम बोहरा, मानिषा भुजेल, इन्द्रजित चौलागाईं, लक्ष्मण चौलागाईं, उमिशा पाण्डे, सरिता भण्डारी, रचना पौडेल, गीता खड्का, श्रेया दुलाल र केबी पौडेललगायत कलाकारको अभिनय रहेको छ।
करिब २५ वर्षअघि ‘श्रीराम बाजे’ का रूपमा चर्चित अभिनेता सुभाष गजुरेल यस सिरिजमा ‘स्वाहा बाजे’ को भूमिकामा देखिएका छन्। ‘होस्टेल रिटर्न्स’ बाट लोकप्रिय बनेका अभय राज बरालले पनि ‘लट्ठक’ मार्फत दर्शकको थप माया पाउने अपेक्षा गरिएको छ। अभिनेत्री शकु शाहका लागि पनि ‘लट्ठक’ अभिनय यात्राको नयाँ मोड सावित हुने विश्वास गरिएको छ।
‘लट्ठक’ म्युजिक नेपाल र ओरिजिनल मिडियाको प्रस्तुतिमा तथा अफ सिंक फिल्म्सको सहकार्यमा निर्माण गरिएको हो। सिरिजको छायाङ्कन नारायण जी.सी.ले गरेका छन् भने सम्पादन तथा रङ संयोजन अनिल कुमार महर्जनले गरेका हुन्। कथा काजी लिम्बुले लेखेका हुन् भने शीर्ष गीतको सङ्गीत दीक्षित अधिकारीले तयार पारेका छन्। ब्याकग्राउन्ड स्कोर आलिश कार्की, निक्सन उदय र प्रतीक थापाको रहेको छ। यसका क्रिएटिभ निर्देशक मदन घिमिरे तथा निर्माता साजन थापा हुन्।
निर्देशकका अनुसार ‘लट्ठक’ ले नेपाली वेब सिरिज क्षेत्रमा फरक स्वाद प्रस्तुत गर्नुका साथै ग्रामीण जीवनशैली, सामाजिक विसङ्गति र हास्यलाई सरल तर प्रभावकारी रूपमा उजागर गरेको छ।