विज्ञान कथामा आधारित नेपाली फिल्म ‘एक्लो’ को विश्व प्रिमियर अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको छ। नेपाली समयानुसार सोमबार बिहान न्यूयोर्कको एस्टोरियास्थित ‘म्युजियम अफ द मूभिङ इमेज’ मा फिल्मको प्रिमियर गरिएको हो।
प्रिमियर समारोहमा फिल्मका अभिनेता प्रदीप खड्का र जेमी बेकन सहभागी थिए। कार्यक्रममा मिस नेपाल नर्थ अमेरिकाका संस्थापक शैलेश श्रेष्ठ, सह–संस्थापक लाक्पा वाङ्बु तामाङ, तमु परिवार न्यूयोर्ककी अध्यक्ष मनिता गुरुङ तथा वरिष्ठ नृत्य निर्देशक गोविन्द राईको पनि उपस्थिति रहेको थियो।
अवसरमा नेपाली अमेरिकी दर्शकसँगै गैर–नेपाली दर्शकको पनि उल्लेख्य सहभागिता रहेको थियो। हलिउडका केही चर्चित फिल्महरूको प्रिमियर हुने प्रतिष्ठित स्थलमा ‘एक्लो’ को प्रदर्शन हुनु नेपाली फिल्मका लागि महत्वपूर्ण अवसर मानिएको छ।
प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ आगामी १ जनवरी २०२६ (१७ पुस २०८२) देखि नेपालमा रिलिज गर्ने तयारीमा रहेको छ।
