काठमाडौँ । निर्देशक चन्द्र पन्तको फिल्म ‘आ बाट आमा’ ले विदेशमा समेत राम्रो बजार पाउन थालेको छ। पोस्टर र गीत सार्वजनिक भएलगत्तै चर्चामा आएको यस फिल्मको माल्टाका लागि प्रदर्शन अधिकार बिक्री भएको छ।
आगामी माघ १६ गतेदेखि नेपालमा प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ परदेशिएका नेपालीहरूको जीवन र भावनासँग जोडिएको कथामा आधारित छ। गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेपछि अन्तर्राष्ट्रिय बजारमा पनि फिल्मको माग बढ्दै गएको निर्माण टिमले जनाएको छ।
निर्माण टिमले हालै माल्टाका वितरक सुवास ढकाल र विकास ढुंगानासँग माल्टामा प्रदर्शनका लागि सम्झौता गरेको हो। त्यहाँ रहेका नेपाली दर्शकलाई लक्षित गर्दै दुवै वितरकले फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन्।
निर्देशक चन्द्र पन्तले माल्टाका लागि फिल्मको अधिकार राम्रो रकममा बिक्री भएको जानकारी दिए।
‘हाम्रो फिल्म “आ बाट आमा” माल्टामा प्रदर्शनका लागि बिक्री भएको छ,’ उनले भने, ‘राम्रै मूल्यमा सम्झौता भएको छ।’
विदेशी बजारबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले आफू उत्साहित भएको निर्देशक पन्तको भनाइ छ। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायतको मुख्य भूमिका रहेको छ।
चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन्। गीतका भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ। नवराज उप्रेती डिओपी रहेको फिल्मका संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले संयुक्त रूपमा लेखेका हुन्।
फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्। सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका हुन्।
नेपालमा फिल्मको वितरण अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ।