आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ३ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर ले फिल्मको कथावस्तुबारे स्पष्ट संकेत गर्छ।
सामाजिक सञ्जालमा भाइरल बन्ने चाहनाले मुख्य पात्र सौगात मल्ल (गोर्खे) ले गर्ने संघर्ष, जोखिमपूर्ण निर्णय र अनौठा हर्कतलाई ट्रेलरले रोचक ढंगले प्रस्तुत गरेको छ। फिल्ममा सौगातको जोडी अभिनेत्री सृष्टि श्रेष्ठ सँग बाँधिएको छ।
ट्रेलरअनुसार, सौगातले निभाएको पात्र एक्सन स्टार शिव श्रेष्ठ जस्तै चर्चित बन्ने सपना बोकेको छ। सामाजिक सञ्जाल, विशेषगरी टिकटक मा धेरै भ्युज पाउने लालसामा ऊ जोखिम मोलेर अनौठा गतिविधि गर्छ र त्यसकै कारण चर्चामा आउँछ। तर जब उसले वास्तविक जीवनका कठोर यथार्थसँग जुध्नुपर्छ, तब रिल लाइफ र रियल लाइफबीचको अन्तरविरोध ले कथालाई नयाँ मोड दिन्छ। सामाजिक सञ्जालमा भाइरल बन्ने पछिल्लो समय नेपाली समाजमा विकसित हुँदै गएको प्रवृत्तिमाथि फिल्मले व्यंग्य र प्रश्न उठाएको देखिन्छ।
यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ निर्देशन गरिसकेका निगम श्रेष्ठ ले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन्। समसामयिक र घरघरको विषय समेटिएकाले दर्शकले फिल्म मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक श्रेष्ठ बताउँछन्। यस फिल्ममार्फत आफ्नो निर्देशकिय क्षमतालाई अझ पूर्ण रूपमा प्रस्तुत गर्ने उनको विश्वास छ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुल को ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवी को अभिनय रहेको छ।
फिल्मका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन् भने सह–निर्मातामा निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल छन्।
अमर महर्जन को सिनेमाटोग्राफी रहेको फिल्म लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवन मा छायांकन गरिएको हो। ‘भाइरल गोर्खे’ को वितरक सुनिल मानन्धर, द्वन्द्व निर्देशक श्री श्रेष्ठ तथा सम्पादन बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्मा ले गरेका हुन्।