काठमाडौं — माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेमकथानक फिल्म ‘कुमारी’ को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित विशेष पत्रकार भेटघाट कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो।
यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले लोक शैलीको यो नयाँ गीत सार्वजनिक गरेको हो।
‘डोको बुन्ने’ मा गायक केहर सिं लिम्बु को स्वर छ।
गीतका शब्द सागर लामिछाने मगर र सुमन तामाङ ले लेखेका हुन् भने सङ्गीत सुमन तामाङ र केहर सिं लिम्बु कै रहेको छ। गीतको अडियो प्रोडक्सन, मिक्सिङ र मास्टरिङ रिकेश गुरुङ ले गरेका छन्।
शिशिर खाती को कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारी लाई पुराना दिनको झल्को दिने शैलीमा प्रस्तुत गरिएको छ। गीतले नवयुवाबीच विकसित हुँदै गएको प्रेम भावनालाई सौन्दर्यपूर्ण ढंगले व्यक्त गर्छ।
कार्यक्रममा निर्देशक दिनेश राउत ले आफ्ना सफल प्रेमकथानक फिल्महरू ‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ सम्झँदै, ‘प्रसाद’, ‘पुजार सार्की’ र ‘प्रकाश’ जस्ता सामाजिक विषयका फिल्मपछि आफू पुनः प्रेमकथामा फर्किएको बताए।
उनले ‘डोको बुन्ने’ गीतले फिल्मको मौलिकता र नेपालीपनलाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे। लेखक विकास सुवेदी ले पनि गीतले फिल्मको भाव समेट्ने र दर्शकलाई प्रेमकथामा डुबाउने धारणा राखे।
मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारी ले यही फिल्ममार्फत डेब्यु गर्न पाउँदा खुसी लागेको बताए।
राजभण्डारीले सशक्त टिम र स्क्रिप्टका कारण डेब्युका लागि यही फिल्म रोजेको बताइन्।
खड्काले सानैदेखि फिल्मप्रतिको रुचि भएकाले त्यसैअनुरूप यसमा अभिनय गरेको उल्लेख गरे।
कार्यकारी निर्माता केदार भुसाल ले ‘भ्यालेन्टाइन डे’ को आसपास रिलिज हुन लागेको यो फिल्मले सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्ने दाबी गरे।
फिल्ममा अबिषेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायत कलाकारको अभिनय रहेको छ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेम को सहकार्यमा बनेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदी ले लेखेका छन्। छायाङ्कन निर्देशन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपाने को रहेको छ।
डिजिटल वितरण मोशन पिक्चर्स ले गरेको फिल्मको काठमाडौं उपत्यकामा डिसीएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रीब्युशन ले थिएटर वितरण गर्नेछन्। पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्ट ले गरेको छ।