फिल्म ‘बम बिहारी’ शुभमुहूर्त, छायांकन सुरु

0 Shares

काठमाडौँ — नयाँ नेपाली फिल्म ‘बम बिहारी’ को शुभमुहूर्त सम्पन्न भएसँगै छायांकन सुरु गरिएको छ। बुधबार भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो।

फिल्मको निर्देशन डिएमएस मल्ल ले गर्दैछन्। यो उनको डेब्यु निर्देशकिय फिल्म हो। यसअघि उनले करिब ५० वटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। निर्देशक मल्लका अनुसार फिल्मको छायांकन अवधि एक महिना तय गरिएको छ।

काठमाडौंमा एक साताको छायांकनपछि युनिट नेपालगन्ज जानेछ।
‘बम बिहारी’ नेपाली आमाको कोख र भारतीय बाबुको सन्तान बनेको एक पात्रको कथामा आधारित छ। सो पात्रकै वरिपरि फिल्मको कथा घुम्ने निर्देशक मल्लले जानकारी दिए। कथा र लगानी दुबै निर्देशक स्वयंको रहेको छ। नयाँ कलाकार भए पनि कथावस्तु र मेकिङ बलियो भएकाले दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

फिल्ममा सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा) र झरना रिसाल मुख्य भूमिकामा छन्। सुमन ज्योतीले आफू यस फिल्ममा नकारात्मक भूमिकामा देखिन लागेको बताउँदै, ‘बम बिहारी’ नै आफ्नो पात्रको नाम रहेको उल्लेख गरे। दर्शकले आफूलाई नकारात्मक भूमिकामै रुचाएको अनुभव भएकाले यसपटक पनि सकारात्मक प्रतिक्रिया पाउने आशा उनले व्यक्त गरे।

मुख्य अभिनेत्री झरना रिसाल सात वर्षपछि फिल्ममा फर्किन लागेकी हुन्। यसअघि उनले ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’ जस्ता फिल्ममा काम गरिसकेकी छन्। ‘बम बिहारी’ उनको चौथो फिल्म हो।

फिल्ममा सुरबिर पण्डित, ध्रुव बुढाथोकी, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्री लगायतको अभिनय रहनेछ। सुरेन्द्र बस्नेत को कोरियोग्राफी, सरोज बुढाथोकी को मेकअप, रामेश्वर हुमागाईंको टिम को छायांकन तथा गौतमराज खड्का को सम्पादन रहनेछ। सुमन काफ्ले प्रोडक्सन म्यानेजर हुन् भने अनुपम चौधरी का गीत फिल्ममा समावेश हुनेछन्।

फिल्मको प्रदर्शन मिति भने अझै तय गरिएको छैन।

सम्बन्धित समाचार

सबै