फिल्म ‘प्रतिवैरम’ को एक्सन टिजर सार्वजनिक

0 Shares

काठमाडौँ — निर्देशक रोशन दास को निर्देशनमा बनेको फिल्म ‘प्रतिवैरम’ को एक्सन–प्याक टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा १ मिनेट २९ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो।
मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित फिल्मको टिजरले एक्सन, अपराध र मधेसमा देखिने सामाजिक यथार्थ को संकेत दिन्छ। टिजरमा दाइजो प्रथा र दाजु–बहिनीबीचको सम्बन्धलाई पनि समेटिएको देखिन्छ, जसका कारण फिल्मप्रति दर्शकको चासो बढ्ने संकेत देखिएको छ।
मुख्य अभिनेता सम्राट दास टिजरमा प्रभावशाली अवतारमा प्रस्तुत छन्। निर्देशक दासका अनुसार ‘प्रतिवैरम’ सम्राट दासको डेब्यु फिल्म भए पनि यो भूमिका उनको करियरका लागि महत्वपूर्ण र सम्झनलायक बन्ने विश्वास लिइएको छ।
फिल्ममा सम्राट दास, सुप्रज्ञा शर्मा, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह र रामेश बुढाथोकी लगायत कलाकारको अभिनय रहेको छ।
फिल्मका सह–निर्देशक सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल हुन्। रेज इन्टरटेनमेन्ट ले किङ वाईटी सँगको सहकार्यमा निर्माण गरेको फिल्मका प्रोडक्सन म्यानेजर कमल सुनार र लाइन प्रोडक्सन पंकज महतो ले सम्हालेका छन्। सम्पादन कविर वोड ले गरेका हुन्।
निर्देशक दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको हो। फिल्मको कथा निर्देशक स्वयंको हो भने पटकथा युवराज भट्टराई ले लेखेका छन्।
निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठ मा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा बनेको यो फिल्म बहुभाषिक स्वरूपको छ। फिल्मको डिजिटल अधिकार युना डिजिटल ले खरिद गरेको छ।

 

सम्बन्धित समाचार

सबै