काठमाडौं — फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेत ले टेलिभिजन शो ‘कमेडी दरबार’ को टिमलाई लिएर अस्ट्रेलिया टुर गर्ने तयारी थालेका छन्। यसका लागि बस्नेत र ‘कमेडी दरबार’ का विक्की अग्रवाल बीच कागजी सम्झौता सम्पन्न भएको छ।
निर्देशक बस्नेतका अनुसार अस्ट्रेलियामा रहेका नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो टुर आयोजना गर्न लागिएको हो। कार्यक्रमको सम्पूर्ण तयारी अघि बढिसकेको उनले बताए। टुरमा ‘कमेडी दरबार’ का अधिकांश कलाकार सहभागी हुनेछन्।
आगामी फेब्रुअरी महिनाको बीचबाट सुरु हुने यो टुर करिब एक महिनासम्म सञ्चालन हुनेछ। टुरअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन र न्युक्यासल सहित करिब आठ वटा शहर मा कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रमको तयारीका लागि शोभित बस्नेत चाँडै नै अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा छन्। कार्यक्रमको प्रस्तुतकर्ता पाल्पा इन्टरटेनमेन्ट रहेको छ भने थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्ट संयुक्त रूपमा टुर आयोजक रहेका छन्।
यसैगरी, पाल्पा इन्टरटेनमेन्ट र शोभित बस्नेतले आगामी दिनमा प्रत्येक दुई महिनामा अस्ट्रेलियामा नियमित कार्यक्रम आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन्। यसअघि शम्भुजित बास्कोटा, यम बराल र आनन्द कार्की लगायत कलाकारहरूले अस्ट्रेलियाका विभिन्न शहरमा प्रस्तुति दिइसकेका छन्।