काठमाडौं । फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माणपक्षले काठमाडौंमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरले पढाइमा कमजोर एक गाउँले युवक काठमाडौं आएपछि भोग्नुपर्ने कठोर संघर्षलाई चित्रण गर्छ। गाउँमा बसेर देखेको चम्किलो काठमाडौंको सपना सहर आइपुग्दा कसरी यथार्थसँग ठोक्किन्छ भन्ने कथा ट्रेलरको केन्द्रमा छ।
काठमाडौं आएर जीवन बदल्ने आशामा फोहोर उठाउने कामसम्म गर्न बाध्य युवकको संघर्षमार्फत ट्रेलरले सहरको निर्दयी जीवन, त्यसले परिवारका सपना र सम्बन्धमा पार्ने प्रभावलाई उजागर गरेको छ। गाउँमा आमाबुवाको माया र संरक्षणमा हुर्किएको छोरो सहरमा आफ्नै कमाइमा बाँच्न बाध्य हुँदा भोग्ने पीडा र आमाले छोराको दयनीय अवस्था थाहा पाउँदाको भावुक क्षण ट्रेलरमा देखाइएको छ।
काठमाडौं छिर्दा देखेको सपना सहरको वास्तविकतासँग जुध्दा कसरी टुट्छ भन्ने आम नेपाली युवाको प्रतिनिधि कथा ट्रेलरले प्रस्तुत गरेको छ।
यसअघि निर्माणपक्षले फिल्मको शीर्ष गीत सार्वजनिक गरिसकेको छ, जसमा मरिचमान श्रेष्ठको स्वर रहेको छ।
फिल्म ‘गोबर गणेश’ माघ १ गते प्रदर्शनमा आउनेछ। फिल्मको निर्देशन मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले गरेका हुन्।
बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा बल्छी धुर्बे र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।
फिल्ममा तारानाथ न्यौपाने चिफ एडिटर, योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेको छ। टौवा स्टुडियोले पब्लिसिटी डिजाइन गरेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपाल वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।