काठमाडौँ । विपना थापा र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘आ बाट आमा’मा नेवारी गीत समावेश गरिने भएको छ। निर्माण टिमले फिल्ममा रहेको चर्चित गीत ‘लैजा खबर ए हावा’लाई नेवारी भाषामा पनि रेकर्ड गरेको हो।
रिलिज भएसँगै चर्चा कमाइरहेको यो गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भर्सनमा प्रस्तुत गरेका छन्। गीतको नेवारी संस्करण गायक यमन श्रेष्ठले गाएका हुन्। बाबुल गिरीको शब्द रचनामा नेपाली भाषामा गाइएको यस गीतलाई नेवारी भाषामा गाउन पाउँदा आफू निकै खुशी भएको यमनले बताए।
‘यो गीत म युट्युबमा सुन्दै आएको थिएँ, अहिले निकै चर्चित पनि छ,’ यमनले भने, ‘फिल्म “आ बाट आमा”को टिमले यो गीत नेवारी भाषामा पनि गाउन प्रस्ताव गर्नुभयो। नेवारी शब्द आफैं मिलाउन भनिएपछि मैले बुबा मदनकृष्ण श्रेष्ठलाई अनुवादमा सहयोग गर्न अनुरोध गरेँ। बुबाले नै नेवारी शब्द तयार गरिदिनुभएको हो।’
स्टुडियोमा रेकर्डिङका क्रममा आफू निकै भावुक भएको उल्लेख गर्दै यमनले बुबासँगको सहकार्य अर्थपूर्ण रहेको बताए। ‘फिल्ममा गीतको दृश्य हेर्दा निकै रोएको देखिन्छ। यहाँ गाउँदा आफू पनि भावुक भइएछ,’ उनले थपे।
नेपाली भर्सनमा भने यो गीत गायक रवि ओडले गाएका छन्। आफ्ना सन्तान परदेशिन लाग्दा नेपालमै रहेका बुबाआमाको भावनासँग फिल्मको कथा गाँसिएको छ।
निर्देशक चन्द्र पन्तले फिल्ममा नेपालीसँगै नेवारी भाषामा पनि गीत रेकर्ड गरिनु प्रचार रणनीतिको फरक अभ्यास भएको बताए। नेवारी गीत मन पराउने दर्शक–स्रोताका लागि यो प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्दै उनले अन्य भाषामा पनि गीत रेकर्ड गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा विपना थापा र पल शाहसँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ। हाल फिल्मको प्रचारप्रसारमा कलाकार र निर्माण टिम सक्रिय छन्।
निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत छ। गीतका भिडियोमा गंभीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ। नवराज उप्रेती डीओपी रहेको फिल्ममा संवाद लेखनमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य छ।
फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन्। सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका हुन्।
फिल्म ‘आ बाट आमा’ आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउनेछ। नेपालमा प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ।