काठमाडौँ । चलचित्र विकास बोर्डले बोर्डअन्तर्गत स्थापना गरिएको चलचित्र संग्राहलयका लागि नेपाली फिल्मका पोस्टर (डिजिटल तथा फिजिकल) संकलन कार्य सुरु गरेको छ।
स्वदेशी फिल्मको इतिहास, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली फिल्म पोस्टरहरू समेटिएको विशेष प्रदर्शनी आयोजना गर्न लागिएको बोर्डले जनाएको छ। सो प्रदर्शनीका लागि बोर्डले फिल्म निर्माता, निर्देशक तथा सरोकारवालाहरूलाई आफू संलग्न फिल्मका पोस्टर उपलब्ध गराउन सूचना जारी गर्दै अनुरोध गरेको छ।
बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, “नेपाली फिल्मका पोस्टर केवल प्रचार सामग्री मात्र होइनन्, यी हाम्रो फिल्म इतिहास र समयको महत्त्वपूर्ण अभिलेख हुन्। यस्ता सामग्रीको संरक्षण र सार्वजनिक प्रदर्शनीमार्फत नयाँ पुस्तालाई नेपाली फिल्मको यात्रासँग परिचित गराउनु बोर्डको उद्देश्य हो।”
बोर्डले सम्बन्धित सबै चलचित्रकर्मी तथा अधिकार प्राप्त व्यक्तिहरूलाई आगामी मंगलबारभित्र आफू संलग्न फिल्मका पोस्टर डिजिटल वा फिजिकल स्वरूपमा उपलब्ध गराई यस अभियानमा सहयोग गर्न आग्रह गरेको छ।
पोस्टर संकलन तथा थप जानकारीका लागि चलचित्र विकास बोर्डले निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न अनुरोध गरेको छ।
सम्पर्क विवरण:
अप्सरा समाल: ९८५२८३५३५०
तिलोचन थापा: ९८६८६६८५७६
इमेल:
[email protected]
चलचित्र विकास बोर्डले यस अभियानमा फिल्म क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ।