‘गोबर गणेश’को ट्रेलरमा वर्षाले पाइनन् स्पेस, ‘बल्छी’ले बोले झुट, ट्रेलरले गर्‍यो खुलासा

0 Shares

शुक्रबार माघ १ गते फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक गरियो।

ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका प्रमुख कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वे, सीता घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, विनोद न्यौपाने, वर्षा शिवाकोटी, पुजन घिमिरे, पदम तामाङ, सन्तोष बानियाँलगायतको उपस्थिति थियो।

फिल्म घोषणा भएदेखि नै मरिचमानको जोडीमा वर्षा शिवाकोटी वा पुजन घिमिरेमध्ये को ? भन्ने विषयलाई प्रचारको मुख्य हतियार बनाइएको थियो। वर्षा र पुजन दुवैले पनि आफूहरूको भूमिका महत्त्वपूर्ण रहेको संकेत गर्दै उत्साहका साथ प्रतिक्रिया दिँदै आएका थिए।

तर झण्डै तीन मिनेट लामो ट्रेलर हेर्दा यसअघि दिइँदै आएको दाबी फिक्का सावित भएको छ। ट्रेलरमा वर्षा र पुजनको उपस्थिति नगण्यजस्तै देखिन्छ। कथित ‘महत्त्वपूर्ण भूमिका’ ट्रेलरमा महसुस हुन सकेको छैन।

ट्रेलर सार्वजनिक कार्यक्रममा सबैभन्दा बढी चर्चामा रहेकी वर्षा शिवाकोटीले ट्रेलरमा किन आफूलाई कम स्थान दिइयो भन्ने प्रश्नको सामना गर्नुपर्‍यो। यसबारे प्रतिक्रिया दिँदै उनले निर्माणपक्षलाई नै सोध्न आग्रह गरिन्।

फिल्मका लेखक, निर्देशक तथा निर्माता स्वयं रहेका बल्छी धुर्वेले भने फिल्म आमाछोराको कथामा आधारित भएकाले ट्रेलरमा त्यस्तै संरचना देखिएको स्पष्टिकरण दिए। तर उनको भनाइ र ट्रेलरमा देखिएको सामग्रीबीच मेल खाँदैन। ट्रेलर हेर्दा उनको दाबी आफैं कमजोर देखिन्छ।

सार्वजनिक ट्रेलरमा आमाछोराको भावनात्मक सम्बन्धलाई खासै स्थान दिइएको छैन। बरु फिल्म हास्यप्रधान हो भन्ने सन्देश दिन खोज्दै बेतुकका संवाद र दृश्यलाई प्राथमिकता दिइएको देखिन्छ।

समग्रमा ट्रेलर, एक फिल्म ट्रेलर हुनुपर्ने संरचनाबाट चुकिएको अनुभूति दिन्छ। कथावस्तु, पात्र र भावनाभन्दा ‘दर्शक हस्लान्’ भन्ने अनुमानमा राखिएका संवादका टुक्राहरू मात्र ट्रेलरमा देखिन्छन्।

यसरी ट्रेलर सम्पादन गरिँदा ट्रेलर आफैं कमजोर बनेको छ भने कलाकारहरूलाई पनि असहज स्थितिमा पुर्‍याएको देखिन्छ। अब दर्शकको अपेक्षा यही छ—ट्रेलरभन्दा फरक अनुभव फिल्मले दिनेछ कि नदिनेछ।

हेर्नुस् ट्रेलर

सम्बन्धित समाचार

सबै