काठमाडौं – चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को मुख्य भूमिका र निर्देशनमा तयार भएको चलचित्र ‘गोबर गणेश’ यतिबेला दर्शकको चासोको केन्द्रबिन्दुमा रहेको छ। सार्वजनिक भएको केही समयमै चलचित्रको ट्रेलर र यसमा समावेश गीत ‘ओ हेलो हाई हाई’ ले युट्युबमा मिलियन भ्युज पार्दै दर्शकको मन जित्न सफल भएका छन्।
ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा, गाउँले युवक काठमाडौँमा आएपछि भोग्ने संघर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। विशेष गरी आमा-छोराको भावनात्मक सम्बन्ध र शहरको कठोर वास्तविकताले दर्शकलाई भावुक बनाएको छ।
ट्रेलरमा समावेश ‘ओ हेलो हाई हाई’ गीत, जसको स्वर मरिचमान श्रेष्ठको रहेको छ र वर्षा सिवाकोटी फिचर्ड छिन्, टिकटक र युट्युबमा अत्यधिक लोकप्रिय बनेको छ। गीतको डान्सिङ बिटले दर्शकलाई झुमाउन सफल भएको छ।
चलचित्रको ट्रेलर र गीत दुवैले युट्युबमा मिलियन भ्युज पारिसकेका छन्, जसले चलचित्रप्रति दर्शकको व्यग्र प्रतीक्षालाई झल्काउँछ। युट्युब कमेन्ट बक्समा दर्शकहरूले चलचित्रको विषयवस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन्। एक दर्शकले लेखेका छन्,
“ट्रेलर हेर्दा मनै छुन्छ, गाउँबाट शहर आएर संघर्ष गर्ने हरेक युवाको कथा यसमा झल्किएको छ।”
अर्का एक दर्शकले भने,
“बल्छी धुर्बे दाइको अभिनय सधैं प्राकृतिक लाग्छ। हाँसो र आँसु दुवैको मिश्रण ट्रेलरमा देखियो, फिल्म सुपरहिट हुने पक्का छ।”
बल्छी धुर्बे फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायत छन्।
चलचित्रको कथा र निर्देशन स्वयं मरिचमान श्रेष्ठले गरेका हुन्। यो उनको पहिलो फिचर फिल्म निर्देशन हो। ‘मेरी बास्सै’ बाट लोकप्रिय बनेका उनी पछि टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ का निर्देशकसमेत हुन्।
छायांकन शिवराम श्रेष्ठ र सम्पादन विपिन मल्ल द्वारा गरिएको यो चलचित्र आगामी माघ १ गते (माघे संक्रान्ति) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ। नेपालमा यसको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।