काठमाडौं – चलचित्र विकास बोर्डले कार्य सम्पादन र नीति कार्यान्वयनका लागि विभिन्न १५ विभागीय समिति गठन गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा समितिका सदस्य र संयोजकहरूलाई परिचयपत्र वितरण गरिएको छ।
बोर्ड अध्यक्ष दिनेश डीसीले सदस्यहरूलाई परिचयपत्र प्रदान गर्दै समितिहरूको भूमिका महत्वपूर्ण हुने बताए। उनले भने, “चलचित्रकर्मी नै नेपाली चलचित्र उद्योगको मेरुदण्ड हुन्। उनीहरूको सिर्जना, श्रम र समर्पणलाई सम्मान र संरक्षण गर्नु बोर्डको प्राथमिक दायित्व हो।”
गठित समितिहरूमा समावेश छन् – छात्रवृत्ति छनोट सिफारिस समिति, बक्सअफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति, अन्तर्राष्ट्रिय प्रवद्र्धन समिति, आर्थिक सहयोग सिफारिस समिति, महिला चलचित्रकर्मी सशक्तिकरण समिति, चलचित्र प्रदर्शन अनुगमन समिति, कथा संग्रहालय मूल्याङ्कन समिति, मोफसलका चलचित्र मूल्यांकन समिति, कार्यविधि मस्यौदा समिति, चलचित्रघर स्तरोन्नति तथा प्रोत्साहन मूल्याङ्कन समिति, प्रकाशन तथा प्रचार प्रसार समिति, चलचित्र डिजिटाइजेसन सिफारिस समिति, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति, चलचित्रकर्मी छायाङ्कन बीमा सञ्चालन समिति, चलचित्रकर्मी कल्याणकोष सञ्चालन समिति।
परिचयपत्र वितरणसँगै समितिहरू औपचारिक रूपमा क्रियाशील हुनेछन्। बोर्डले विश्वास व्यक्त गरेको छ कि यी समितिहरूले नेपाली चलचित्र क्षेत्रको नीति निर्माण, प्रवद्र्धन, संरक्षण र चलचित्रकर्मी कल्याणमा प्रभावकारी योगदान पुर्याउनेछन्।
कार्यक्रममा बोर्ड सदस्य, समितिका संयोजक र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।