नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने जनआवाजलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ।
रमेश कोइरालाको निर्देशनमा बनेको करिब तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्तागत विचार–मतभेद, जिम्मेवारीबोध तथा निमुखा जनतामाथि राजनीतिक नेतृत्वले गर्दै आएको खेलबाडलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।
देश र जनतालाई पटक–पटक धोका दिँदै आएको राजनीतिक नेतृत्व र त्यसविरुद्ध आवाज उठाउने नयाँ पुस्ताबीचको टकरावलाई केन्द्रीय विषय बनाइएको ‘बिगुल’ ले समसामयिक राजनीतिमा ठूलो हलचल ल्याउने संकेत गरेको छ। आसन्न आम निर्वाचनको सन्दर्भमा फिल्मले उठान गरेका विषयवस्तुले जनतालाई सही नेतृत्व चयनतर्फ सचेत गराउने अपेक्षा गरिएको छ।
ट्रेलरमा अभिनेत्री बेनीशा हमाल, अभिनेता नरेन खड्का र विनोद न्यौपानेले युवा पुस्ताको भावना सशक्त रूपमा सम्प्रेषण गरेका छन्।
दिनेश कोइरालाको कथा तथा निर्माण, कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा सूर्यकान्त कोइराला र महेश कोइराला सह–निर्माताका रूपमा रहेका छन्। फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जे.एन. घिमिरे, गीता अधिकारी र मानश्री शर्माको अभिनय रहेको छ भने रविन्द्र खड्का विशेष भूमिकामा देखिएका छन्। नवनायिका मिरा पण्डितले यही फिल्मबाट अभिनयमा डेब्यु गरेकी छन्।
माघ ९ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने ‘बिगुल’ को छायांकन शिव ढकालले गरेका हुन्। तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्मका गीतहरूमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ।
फस्टलुक पोस्टर, टिजर र गीत सार्वजनिक भएसँगै चर्चामा रहेको ‘बिगुल’ ले मनोरञ्जनका साथै समाज र देशप्रति आम नेपालीलाई सचेत र सजग बनाउने विश्वास निर्देशक कोइरालाले व्यक्त गरेका छन्।