‘गोबर गणेश’ ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

0 Shares

काठमाडौं । फिल्म ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलर दुई दिनमै ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको हो ।

आमा–छोराबीचको भावनात्मक सम्बन्ध र छोराले सहरमा गरेको संघर्षलाई ट्रेलरले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । दुई दिनमा ट्रेलरलाई २१ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् भने दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ ।

ट्रेलरमा ६५ हजारभन्दा बढी लाइक र १२ सयभन्दा बढी कमेन्ट आएका छन् । कमेन्टमा कथावस्तु मन परेको र फिल्म राम्रो हुने अपेक्षा व्यक्त गरिएको छ । कमेडीको स्वाद समेत देखिएकाले दर्शकले ट्रेलरलाई अझ रुचाएको देखिन्छ ।

नेपाली फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आउनु लामो समयपछि भएको हो । यसले फिल्म **‘गोबर गणेश’**प्रति दर्शकको प्रतिक्षा र उत्सुकता स्पष्ट पारेको छ ।

“दर्शकले दिनुभएको यो मायाले हामीलाई थप उत्साहित बनाएको छ,” निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) भन्छन्, “फिल्म पनि यसैगरी मन पराइदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ।” आम नेपालीको कथा उठान गरिएकाले धेरै दर्शकले आफूलाई फिल्मसँग जोड्न सक्ने उनको भनाइ छ ।

फिल्म ‘गोबर गणेश’ माघ १ गते प्रदर्शनमा आउने तयारीमा छ । बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा बनेको यस फिल्ममा बल्छी धुर्वे र वर्षा शिवाकोटीसहित विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछाने लगायतको अभिनय रहेको छ ।

तारानाथ न्यौपाने चिफ एडिटर रहेको फिल्ममा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपिन मल्लको सम्पादन छ । टौवा स्टुडियोले पब्लिसिटी डिजाइन गरेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपाल वितरणको जिम्मा श्री ब्याकटेस इन्टरटेनमेन्टले लिएको छ ।

सम्बन्धित समाचार

सबै