काठमाडौं । विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब–सिरिज ‘हरामी’ युट्युबमा सार्वजनिक भएको छ । उनलाई दर्शक ‘बिटी कान्छा’ नामले चिन्छन्।
५ भागमा निर्माण गरिएको सिरिज ‘बिटी कान्छा’ युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । प्रत्येक भाग करिब २५ मिनेट लामो छ । सिरिजमा नेपाली फिल्म क्षेत्रमा स्थापित कलाकारलाई अतिथि कलाकारका रूपमा प्रस्तुत गरिएको छ । विभिन्न भागमा निर्देशक निश्चल बस्नेत, अभिनेता आयुष्मान जोशी, अभिनेत्री आना शर्मा र गौमाया गुरुङलगायत कलाकार देखिएका छन् ।
निर्देशक तिम्सिनाले सिरिज युवा दर्शकलाई लक्षित गरी फरक स्वादको कन्टेन्ट दिनको उद्देश्यले निर्माण गरिएको बताए । “सिरिजले केवल घरेलु दर्शकमा सीमित नभई युवा पुस्ताको जीवनशैली, सोच र सम्बन्धलाई केन्द्रमा राख्छ,” उनले भनिन्।
सिरिजको कथा एउटै फ्ल्याटमा बस्ने तीनजना युवाको जीवन वरिपरि घुम्छ, जहाँ प्रेम, करिअर र सम्बन्धका विभिन्न आयाम देखाइन्छन् । प्रत्येक भागमा फरक विषयवस्तु प्रस्तुत गरिएको छ । निर्माणको प्रेरणा सिरिजका पात्र निकुन श्रेष्ठको जीवनबाट आएको तिम्सिनाले खुलासा गरे।
सिरिजका कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन् भने सफल केसी निर्माता र प्रतीक गुरुङ क्रिएटिभ प्रोड्युसर रहेका छन् । नियमित कलाकारमा ऋषिकेश बस्याल, सशांक बोहरा र रक्षा थापा रहेका छन्।