‘बोक्सीको घर’पछि केकी–सुलक्षण ‘पेट्रोल पम्प’ बनाउँदै

0 Shares

काठमाडौं । गत वर्ष नेपाली फिल्म उद्योगलाई ब्लकबस्टर दिएको ‘बोक्सीको घर’ टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ। अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको सहकार्यमा बन्ने फिल्मको नाम ‘पेट्रोल पम्प’ राखिएको छ।

‘बोक्सीको घर’ रिलिजको समयमा पुनः सहकार्य गर्ने चर्चा भएको स्मरण गर्दै केकी अधिकारीले भनिन्, “त्यतिबेला हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिल्यो भने फेरि सँगै काम गर्छौं भनेका थियौँ। त्यो समय अहिले ‘पेट्रोल पम्प’मार्फत आएको छ।”

फिल्मको निर्देशन सुलक्षण भारतीले गर्नेछन् भने कथा पनि उनैले लेखेका हुन्। फिल्मकी निर्माता केकी अधिकारी रहनेछिन्। यसअघि ‘बोक्सीको घर’मा पनि सुलक्षण लेखक तथा निर्देशक थिए भने केकी निर्माता थिइन्।

सोसल ड्रामा जनराको फिल्म ‘पेट्रोल पम्प’ विसं २०८३ मा रिलिज हुने तयारीमा छ। फिल्ममा कलाकार को–को रहनेछन् भन्नेबारे निर्माणपक्षले हालसम्म खुलाएको छैन।

“कलाकार र प्राविधिक टिमबारे केही समयमै विस्तृत जानकारी दिनेछौँ,” केकीले बताइन्।

‘बोक्सीको घर’ फिल्ममा केकी र सुलक्षण दुवैले अभिनय गरेका थिए, जसमा केकी मुख्य भूमिकामा थिइन्। बद्री अधिकारी निर्माता रहेको उक्त फिल्मले नेपाली बक्सअफिसमा ११ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको थियो। यो केकीको पहिलो निर्माण फिल्म नै ब्लकबस्टर बनेको थियो। फिल्मको ‘बुझिन मैले’ गीत पनि निकै भाइरल भएको थियो।

केकीले भनिन्, “पहिलो फिल्म ‘बोक्सीको घर’मा हामीले नयाँ टेस्ट लिएर दर्शकमाझ आएका थियौँ र दर्शकले मन पराउनुभयो। ‘पेट्रोल पम्प’मा पनि त्यही नयाँपन दिन खोज्नेछौँ।”

सम्बन्धित समाचार

सबै