फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक

0 Shares

काठमाडौं । फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माणपक्षले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरले बुवा र छोरीबीचको भावनात्मक कथालाई केन्द्रमा राखेको छ। श्रीमतीविहीन घर, आमा नभएका सन्तान र श्रीमती गुमाएका श्रीमान्को जीवन कति रित्तो हुन्छ भन्ने भाव ट्रेलरमा देखाइएको छ।

ट्रेलरमा त्रिकोणात्मक प्रेमकथासँगै आमा नभएकी छोरीको हेरचाह गर्ने बुवाको संघर्ष र छोरीको भावनात्मक यात्रा प्रस्तुत गरिएको छ। आमाले छोरीलाई छोडेर गएपछि छोरीले भोग्नुपरेको अभाव र छोराछोरीका लागि आमाको महत्व ट्रेलरले स्पष्ट रूपमा देखाएको छ।

फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु र शाइसा गौचनलगायत कलाकार ट्रेलरमा देखिन्छन्। दयाहाङ, सिर्जना र प्रकाशबीचको त्रिकोणात्मक प्रेमलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। आमाको अभाव महसुस गरिरहेकी छोरीलाई मातृत्व प्रदान गर्ने दयाहाङको प्रयासले दर्शकलाई भावुक बनाउने संकेत ट्रेलरले दिएको छ।

एक–अर्कोलाई पाउने चाहना कसरी क्रमशः उजागर हुँदै जान्छ, त्यसको अभिव्यक्ति, नुमाकी आमा आफ्नी आमा नभएको थाहा पाएपछि निमाको प्रतिक्रिया र सत्य पत्ता लगाउन गरिएको संघर्ष पनि ट्रेलरमा समेटिएको छ।

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्माता गोविन्द बोहरा र सुदीप कुँवर हुन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।
फिल्म ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।

सम्बन्धित समाचार

सबै