फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत ‘धौले संसार’ सार्वजनिक गरिएको छ। पोस्टर सार्वजनिक गरेपछि निर्माणपक्षले गीत रिलिज गरेको हो।
कुबेर तामाङको निर्देशनमा तयार भएको यो फिल्म सन् २०२६ मा प्रदर्शनमा आउने तय गरिएको छ। सार्वजनिक गीत ‘धौले संसार’ लोक शैलीमा निर्माण गरिएको हो।
गीतमा पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को स्वर रहेको छ। डा. अशाबहादुर तामाङको शब्द र पुष्कर सुनुवारको संगीत रहेको यो गीतको भिडियो रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा र मिस पबीसँगै नव–नायक स्याडो रियल, उत्तम केसी, सेजल सुवेदी तथा हिउवाला गौतमको आकर्षक नृत्य देख्न सकिन्छ। कोरियोग्राफीले गीतलाई अझ प्रभावशाली बनाएको छ।
फिल्ममा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला र गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
सञ्जित भण्डारी र मोनु खड्काको लगानीमा बनेको यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ। फिल्ममा राजेन्द्र खड्गीको एक्सन निर्देशन, रामशरण उप्रेती र रामकुमार केसीको छायांकन, बनिष शाह र नवीन चौधरीको सम्पादन, रामकाजी घिमिरेको पटकथा तथा संवाद र स्याडो रियलको कथा तथा शब्द रहेको छ।
दाजुभाइको कथामा आधारित यो फिल्मले दर्शकको मन जित्ने विश्वास निर्माणपक्षले लिएको छ।