महाशिवरात्रिमा रिलिज हुने फिल्म ‘शिवांश’को टिजर सार्वजनिक

0 Shares

काठमाडौं — फिल्म ‘शिवांश’को टिजर सार्वजनिक गरिएको छ। निर्माणपक्षले आज युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो।

‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्ने संवादबाट सुरु हुने टिजर छोटो तर प्रभावशाली छ। टिजरमा मुख्य कलाकार प्रवीण खतिवडा सन्तको भूमिकामा देखिन्छन्। हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेपछि टिजर समाप्त हुन्छ।

ओजपूर्ण आवाज, दृश्य संयोजन, र संवादले टिजरले दर्शकमा कौतूहलता पैदा गरेको छ। फिल्मको कथाबारे निर्माणपक्षले अहिलेसम्म कुनै विवरण सार्वजनिक गरेको छैन। टिजरमार्फत पनि कथालाई सस्पेन्समै राखिएको छ।

फिल्म ‘शिवांश’ आगामी फागुन ३ गते, महाशिवरात्रिको अवसर पारेर रिलिज हुने तय भएको छ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा बनेको फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। फिल्मका निर्माता अञ्जान केसी हुन्।

फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। साथै विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चौराउटे, उदय कुमार सुब्बा र टीका निरौलालगायत कलाकारको पनि अभिनय रहनेछ।

फिल्मको कथा अञ्जान केसीले लेखेका हुन्। सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् भने स्क्रिनप्ले बारत लिम्बूको छ। सरद महतो डीओपी रहेका छन् र कार्यकारी निर्माता सम्भू थापा हुन्।

फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहनेछ। गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर हुनेछ।

द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी विक्रम चोहान, आर्ट निर्देशन तथा प्रोडक्सन डिजाइन प्रतीक चौधरीको रहेको छ। भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर विराज खड्का र भीएफएक्स प्रोड्युसर आदेश सुब्बा (गुडरेज पिक्चर्स) हुन्।

फिल्मको पोस्ट–प्रोडक्सन चलचित्र चौतारीमा गरिएको छ भने वितरण **डिजिटल सिनेमा नेपाल (डीसीएन)**ले गर्नेछ।

सम्बन्धित समाचार

सबै