काठमाडौं — नेपाली नागरिक चेतना, वैकल्पिक राजनीति, उद्यमशीलता र सामाजिक रूपान्तरणको नयाँ बाटो देखाउने प्रेरणादायी व्यक्तित्व उज्ज्वल थापाको जीवनमा आधारित वृत्तचित्र **‘दिमाग खाँदैन मान्छे’**को विशेष प्रिमियर सम्पन्न भएको छ।
उक्त वृत्तचित्रको प्रिमियर पुष २३ गते (जनवरी ७) ललितपुरस्थित क्यूएफएक्स लाबिम मलमा भव्य रूपमा सम्पन्न भएको हो। प्रिमियरपछि वृत्तचित्र हाल देशभरका विभिन्न चलचित्र हलहरूमा प्रदर्शन भइरहेको छ।
१ घण्टा ३० मिनेट लामो वृत्तचित्रको प्रिमियर कार्यक्रममा सम्माननीय प्रधानमन्त्री सुरेश कार्की, माननीय गृहमन्त्री ओमप्रकाश अर्याल, माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व मन्त्रीहरू, राजनीतिक नेतृत्व, नागरिक समाज, परिवारजन र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वृत्तचित्रले उज्ज्वल थापाको बाल्यकाल, वैदेशिक शिक्षायात्रा, देश फर्किएपछि सुरु गरेको नागरिक जागरण अभियान तथा वैकल्पिक राजनीतिमा पुर्याएको योगदानलाई समेटेको छ। परिवार, साथीभाइ र सहयात्रीहरूसँगका अन्तर्वार्ता तथा उनले सञ्चालन गरेका अभियानहरूको दस्तावेजीकरणमार्फत प्रस्तुत गरिएको वृत्तचित्रले एक व्यक्तिको सक्रियताले समाजमा अर्थपूर्ण परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश दिन्छ।
वृत्तचित्र निर्माणका लागि सर्वसाधारणबाट ६५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन गरिएको जनाइएको छ। प्राप्त सम्पूर्ण आम्दानी तथा खर्चको विवरण पारदर्शितासहित उज्ज्वल थापा फाउन्डेसनको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।
उज्ज्वल थापा फाउन्डेसनद्वारा निर्माण गरिएको यो वृत्तचित्र ‘दिमाग खाँदैन मान्छे’ ड्रिम विजार्डको प्रस्तुति हो। वृत्तचित्रको निर्देशन सुदीप आत्रेयले गरेका हुन्।
प्रिमियरमा सहभागी विशिष्ट व्यक्तित्वहरूले उज्ज्वल थापालाई नागरिक चेतनाको प्रतिनिधि पात्र, युवाहरूका लागि प्रेरणाको स्रोत र वैकल्पिक राजनीतिक सोचको सम्भावनाको प्रतीकका रूपमा मूल्यांकन गरेका थिए।
वृत्तचित्र पुष २५ गतेदेखि देशभरका विभिन्न चलचित्र हलहरूमा प्रदर्शन भइरहेको छ।