फिल्म ‘कुमारी’को प्रवर्द्धनका लागि नेपालगन्जदेखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट

0 Shares

काठमाडौं — आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’को प्रवर्द्धनका लागि नेपालगन्जदेखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट टुर आयोजना गरिने भएको छ। चलचित्र र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ आयोजना गर्न लागिएको हो।

यस कन्सर्ट टुरको ट्रेलर बिहीबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा फिल्मका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले चलचित्रका गीतहरू प्रस्तुत गरेका थिए।

बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना हुने यो एकीकृत प्रमोशनल टुर देशव्यापी रूपमा सञ्चालन हुनेछ। टुरमा ब्यान्डसँगै फिल्मका मुख्य कलाकार अभिषेक खड्का, आकृति राजभण्डारी र निर्देशक दिनेश राउत पनि सहभागी रहनेछन्।

आयोजकका अनुसार नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ कन्सर्ट आयोजना हुनेछ। कन्सर्ट तालिकाअनुसार माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं (भृकुटीमण्डप) र माघ १७ गते दमकमा कार्यक्रम हुनेछ। काठमाडौंको कन्सर्टमै फिल्म ‘कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिने जनाइएको छ।

हाल फिल्मको गीत ‘डोको बुन्ने निगालो चोयाले’ दर्शकमाझ चर्चित बनेको छ। गीतमा केहर सिंह लिम्बुको स्वर, सागर लामिछाने मगर र सुमन तामाङको शब्द तथा सुमन तामाङ र केहर सिंह लिम्बुको संगीत रहेको छ। कार्यक्रममा केहरले यही गीतसँगै फिल्मको अर्को गीत ‘कता छौ मेरो फूल’ पनि प्रस्तुत गरेका थिए।

निर्देशक दिनेश राउतले देशव्यापी लाइभ कन्सर्टमार्फत फिल्म र सङ्गीतलाई एउटै उत्सवका रूपमा प्रस्तुत गर्ने उद्देश्य रहेको बताए। फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन्।

सम्बन्धित समाचार

सबै