‘ऊनको स्वीटर’ले भारतमा ५१ दिन मनायो, ६ हलमा निरन्तर प्रदर्शन

0 Shares

काठमाडौं — नेपाली फिल्म ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। भारतभर ४० वटा हलमा रिलिज भएको फिल्म हाल ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको निर्माणपक्षले जनाएको छ।

५१ दिनसम्म लगातार प्रदर्शन भएका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल र लखनउको पिभिआर सहरगन्ज मल रहेका छन्।

नेपालमा पनि उत्कृष्ट व्यापार गर्दै फिल्मले ४० भन्दा बढी हलमा ५१ दिन प्रदर्शन हुँदै करिब १२ करोड रुपैयाँ आम्दानी गरेको थियो। आर्टमान्डू नेपाल प्रा.लि.को निर्माण रहेको फिल्मको भारत यात्रा सिक्किमको राजधानी गान्तोकमा प्रिमियर शोबाट सुरु भएको थियो, जहाँ प्रारम्भिक शोहरू हाउसफुल चलेका थिए।

गान्तोकपछि फिल्म नाम्ची, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ र सिलिगुडी हुँदै पूर्वोत्तर भारतमा लोकप्रिय बन्यो। त्यसपछि आसाम र अरुणाचल प्रदेश हुँदै कोलकाता र दिल्लीसम्म फिल्मले दर्शक विस्तार गर्‍यो।

पूर्वोत्तर र उत्तर भारतमा सफलता पाएपछि फिल्म मुम्बई, पुणे, केरला, बैंगलोर र हैदराबादसम्म पुगेको छ। निर्देशक नवीन चौहानका अनुसार भाषा फरक भए पनि दर्शकले भावनात्मक रूपमा फिल्मसँग आत्मीयता महसुस गरेका छन्।

फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेललगायत कलाकारको अभिनय छ। भारतमा फिल्मलाई एसली प्रोडक्सन र एवन राई समूहले वितरण गरेका हुन्।

निर्माण संस्था आर्टमान्डू नेपाल प्रा.लि.ले भारत र नेपालका दर्शक तथा साझेदारप्रति आभार व्यक्त गर्दै फिल्मको अन्तर्राष्ट्रिय यात्राले नेपाली फिल्मका लागि नयाँ बजार र सम्भावना खोलेको विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै