‘मिरमिरे’ बुवा–छोरी र अभिभावकले सन्तानप्रति देखेको भविष्यको कथा हो : दयाहाङ राई

0 Shares

काठमाडौं — अभिनेता दयाहाङ राईले चलचित्र ‘मिरमिरे’लाई बुवा र छोरीको सम्बन्धसँगै अभिभावकले सन्तानप्रति देखेको भविष्यको कथामा आधारित फिल्मका रूपमा व्याख्या गरेका छन्।

छोरीसँग आफ्ना मुख्य पीडा लुकाएर बुवाले देखाउने बाहिरी खुसीलाई ‘मिरमिरे’ले प्रस्तुत गर्ने दयाहाङको भनाइ छ। यही भावनालाई भित्रैबाट कसरी देखाउन सकिन्छ भन्ने कुरामा आफूले अभिनय केन्द्रित गरेको उनले बताए।

झट्ट हेर्दा बाबु–छोरीको सामान्य कथा जस्तो देखिए पनि गहिरिएर हेर्दा फिल्ममा धेरै तह रहेको दयाहाङले उल्लेख गरे।
“झट्ट हेर्दा केही नदेखिने, तर एकछिन सोचेर हेर्दा देखिने पक्ष भएकैले यस्तो कथामा काम गर्ने रुचि भएकाले मैले यो चलचित्र छानेको हुँ,” उनले भने, “यो दुःख र खुसीको मात्रा नाप्ने फिल्म होइन, प्यासनले हेर्ने सिनेमा हो।”

उनका अनुसार ‘मिरमिरे’ हेरेपछि एकपछि अर्को सोच्न बाध्य बनाउने खालको कथा बोकेको फिल्म हो।

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउँदै छ। यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा दयाहाङ राईसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन् भने कार्यकारी निर्माता रोहित कट्टेल रहेका छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।
चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

सम्बन्धित समाचार

सबै