काठमाडौं — मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। युट्युबमा ट्रेलरले व्यापक चर्चा पाइरहेकै बेला निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई थप तिव्र बनाएको छ।
निर्देशक बल्छी धुर्वे पछिल्ला दिनहरूमा नेपाली फिल्म क्षेत्रका दिग्गज कलाकारहरूलाई भेट्दै फिल्मबारे जानकारी गराउने र आशीर्वाद लिने क्रममा छन्। यसै क्रममा उनले महानायक राजेश हमाल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, निर शाह, चर्चित अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलालगायतसँग भेटघाट गरेका छन्।
भेटका क्रममा दिग्गज कलाकारहरूले बल्छी धुर्वेको मेहनत, इमानदारिता र निरन्तरताको खुलेर प्रशंसा गरेका छन्। टेलिभिजनबाट सुरु भएको उनको यात्राले ठूलो पर्दामा नायक र निर्देशकको पहिचान बनाउनु प्रेरणादायी रहेको उनीहरूको भनाइ छ।
वरिष्ठ कलाकारहरूले बल्छीको साहस र लगनशीलताले नयाँ पुस्ताका कलाकारहरूलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै **‘गोबर गणेश’**को सफलताका लागि शुभकामना दिएका छन्। दिग्गज कलाकारहरूबाट पाएको साथ र हौसलाले निर्माण टिम थप उत्साहित बनेको बताइएको छ।
एक साता अघि सार्वजनिक भएको **‘गोबर गणेश’**को ट्रेलर युट्युबमा करिब ३० लाख (३ मिलियन) पटक हेरिएको छ र हाल नम्बर १ ट्रेन्डिङमा रहेको छ। सामाजिक कथावस्तुमा आधारित हास्य र भावनाको मिश्रण रहेको फिल्मप्रति दर्शकमा उच्च कौतूहल देखिएको छ।
बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्म आगामी माघ १ गते, माघे सङ्क्रान्तिको अवसर पारेर देशभरका सिनेमा हलमा रिलिज हुँदैछ।
फिल्ममा बल्छी धुर्वेसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।
फिल्ममा तारानाथ न्यौपाने चिफ एडिटर, योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन (डीओपी) र विपिन मल्लको सम्पादन रहेको छ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो। नेपालमा फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।