तुलसी घिमिरेले निर्देशन र निर्माण गर्न लागेको फिल्म ‘पहाड’को वितरण अधिकार सेभेन सिज र ब्यांकटेस इन्टरटेनमेन्टले किनेका छन् । सिनेमाको नेपाल अधिकार ब्यांकटेस इन्टरटेनमेन्ट तथा विदेशको अधिकार सेभेन सिजले किनेका हुन्।
माघ ३ गतेदेखि फ्लोरमा जाने तय भएको यो सिनेमाको सुटिङ काठमाडौं, गोरखा तथा भारतको मुम्बईमा हुनेछ।
सिनेमामा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, वर्षा राउत, सुनिल थापा, रविन्द्रसिंह बानियाँ र अरुण क्षेत्रीको अभिनय हुनेछ।
‘पहाड’ घिमिरेको स्वप्न प्रोजेक्ट मानिएको छ। सिनेमाले युवा शक्ति विदेशिंदा रित्तिएका पहाडी गाँउको कथा प्रस्तुत गर्ने जनाइएको छ।
‘अहिलेको सरकारले युवालाई देशमै बस भन्छ। तर समाजले विदेश गएर पैसा कमाऊ भन्छ,’ कथावस्तुबारे निर्देशक घिमिरेले भने, ‘बाहिर गएर काम गर्नेलाई सफल भनिन्छ। बाहिरबाट फर्किएका पनि हतास देखिन्छन्। खासमा देशमा बसेर गर्ने के? यो कथालाई समय सुहाउँदो तरिकाले प्रस्तुत गर्न लागेका हौं।’
घिमिरेले बाँसुरी, कुसुमे रुमाल, लाहुरे, अन्याय, कोसेली, चिनो, दुई थोपा आँसु, देउता, दक्षिणा, मितज्यू, रहर, बलिदान, दर्पणछाया, साइत, लहना, दुई किनारा, स्वर्ग, दर्पणछाया २ जस्ता सिनेमा निर्देशन गरेका छन्। उनी नेपाली सिनेमाका सफलतम निर्देशकमध्येमा गनिन्छन् ।
यो फिल्म भाग्यरत्न फिल्म्सको ब्यानरमा निर्माण हुनेछ भने बजेट साढे ३ करोड रुपैयाँ हुने जनाइएको छ।
सिनेमालाई जेठमा प्रदर्शनको तयारी गरिएको वितरक मनोज राठीको भनाइ छ।
‘छायांकनपछि मात्र मिति कन्फर्म गर्ने तयारी छ,’ राठीले भने, ‘यसलाई नेपाली फिल्मको पछिल्लो भव्य फिल्मको रुपमा निर्माण गर्दैछौं।’