काठमाडौं। नाट्यकर्मी तथा कलाकार नरेन्द्र सेन्दाङले नयाँ फिल्म ‘मातृभूमि’ निर्माण गर्ने भएका छन्। फिल्मको कथा र निर्देशन दिनेश लिङदेनले गर्नेछन् भने छायांकन काठमाडौं, पाँचथर (नेपाल) र टेक्सास तथा न्युयोर्क (अमेरिका) मा हुनेछ। केही दिनमा मुहुर्त कार्यक्रम गरेर छायांकन सुरु गरिनेछ। फिल्मको कार्यकारी निर्माता कविता राई लिङदेन हुन्।
फिल्ममा नरेन्द्रले प्रमुख भूमिकामा अभिनय गर्नेछन्। बाँकी कलाकार र प्राविधिक टिमको नाम चाँडै सार्वजनिक गरिने उनले जानकारी दिए। नरेन्द्रका अनुसार, फिल्ममा विदेशमा बस्दा स्वदेशप्रतिको माया, राष्ट्र र राष्ट्रियता प्रतिको भावना, र रोजगार तथा अध्ययनका लागि विदेशमा रहेका नेपालीहरूको व्यक्तिगत कथा–व्यथा समेटिनेछ।
मोरङको उर्लाबारीमा जन्मिएका नरेन्द्र हाल अमेरिकाको टेक्सासमा बस्दै आएका छन्। बाल्यकालदेखि नै नृत्य र साहित्यमा रुचि राख्ने उनी सडक नाटक, रंगमञ्च र नेपाली फिल्ममा पनि सक्रिय रहेका छन्।
उनीले ‘क्षितिज पारिको गाउँ’, ‘अँध्यारो बस्ती’, ‘तुम्दङ’ लगायत करिब एक दर्जन नाटकमा अभिनय गरेका छन् र तत्कालीन कलाश्री प्रतिष्ठान मोरङले आयोजना गरेको कला प्रतियोगितामा पूर्वाञ्चल प्रथम पुरस्कार जितेका थिए।
नरेन्द्रले फिल्म ‘बगर’ राजेश हमाल, सिर्जना बस्नेत, विपना थापा र रोहित थेबेललगायत कलाकारहरूसँग निर्माण गरेका थिए। यसअघि उनले ‘तिम्रै म हो नि’, ‘भेडिगोठ’, ‘पायल’, ‘फेक फ्रेण्ड’ लगायतका फिल्ममा नायकको भूमिकामा अभिनय गरिसकेका छन्।
साथै, उनी हङकङ नेपाल कला साहित्य संघ र एभरग्रीन मल्टिपल आर्ट्स एण्ड कल्चरका संस्थापक अध्यक्ष पनि हुन्। उनका करिब ३०० साहित्यिक सिर्जनाहरू प्रकाशित भइसकेका छन्।