काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १०–१२ गतेसम्म आयोजना हुने भएको छ। सेलिब्रेटी नेपालद्वारा आयोजना हुन लागेको महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथामा आधारित फिल्महरू दर्ता गर्न आह्वान गरिएको छ।
आयोजकका अनुसार, महोत्सवमा गाउँले परिवेश झल्किने सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र विभिन्न भाषाभाषी चलचित्रहरू सहभागी हुन सक्नेछन्। प्राप्त फिल्ममध्ये निर्णायक मण्डलले छनोट गरेका चलचित्र महोत्सवमा प्रदर्शन गरिनेछन् भने उत्कृष्ट चलचित्रहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।
महोत्सवको मुख्य उद्देश्य नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउनु, नियमित रूपमा फिल्म हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनु र स्थानीय भाषा, कला, संस्कृति तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु रहेको आयोजकले जानकारी दिएका छन्।
महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार, “आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र” भन्ने मूल नारासहित आयोजना हुने यस महोत्सवमा चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया र कार्यशाला गोष्ठी पनि हुनेछन्।
सापकोटाले थपे, “महोत्सवमा नेपाली मौलिक ग्रामीण कथामा आधारित चलचित्र समावेश गर्दै आएका छौँ। यसले चलचित्र भवन नभएका गाउँका दर्शकलाई पनि चलचित्रसँग जोड्नेछ।”
यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा सम्पन्न भइसकेको छ। यसपटकको महोत्सव आयोजना हुने स्थान भने तय हुन बाँकी रहेको महोत्सव संयोजक कमल एक्चै मगरले जानकारी दिए। चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव आयोजना हुँदैछ।