धरान। माघ २३ गते प्रदर्शनमा आउँदै गरेको नेपाली चलचित्र ‘कुमारी’ ले प्रचारका लागि नेपालमै अहिलेसम्मकै सबैभन्दा ठुलो पोस्टर सार्वजनिक गरेको छ। धरानस्थित फ्रेन्ड्स सिनेमा हलको ८ तल्ले भवन पूरै छोपिने गरी ३२०० स्क्वायर फिट (४०×८० फिट) क्षेत्रमा चलचित्रको होर्डिङ बोर्ड राखिएको छ।
निर्माण पक्षका अनुसार, पोस्टर छपाइमा करिब ८० हजार रुपैयाँ खर्च भएको छ। नेपालमा प्रकाशित र जडान गरिएका पोस्टरहरूमध्ये ‘कुमारी’को पोस्टर नै सबैभन्दा ठुलो भएको दाबी गरिएको छ। धरानको व्यस्त क्षेत्रमा राखिएको विशाल पोस्टरले चलचित्रप्रति दर्शकको ध्यान तानिरहेको छ।
चलचित्रको गीत ‘डोको बुन्ने निगाली चोयाले’ अहिले व्यापक चर्चामा छ। यस गीतका गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ लाई केन्द्रमा राख्दै चलचित्रले पाँच शहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गर्दैछ। कन्सर्ट नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा हुनेछ। कार्यक्रममा ब्यान्डसँगै चलचित्रका प्रमुख कलाकार अबिशेक खड्का, आकृति राजभण्डारी र निर्देशक दिनेश राउत पनि सहभागी हुनेछन्।
लभस्टोरी चलचित्र निर्देशनमा माहिर दिनेश राउतको यो चलचित्र प्रेम कथामा आधारित सशक्त प्रस्तुति मानिएको छ। चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन्।