गायक शान भुषालको नयाँ रोमान्टिक गीत ‘संगी’ सार्वजनिक गरिएको छ। कपिलराज गिरिको शब्द र शानकै संगीतमा तयार भएको गीतमा फिमेल भोकलका रूपमा सलिना बिकेले साथ दिएकी छन्। गीतको अडियो कर्णप्रिय बनेको छ।
गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री सजिना श्रेष्ठ देखिएका छन्। मनाङका रमणीय दृश्यमा खिचिएको भिडियोमा उनीहरूको जोडी आकर्षक देखिएको छ। पाँच दिन लगाएर मनाङमा खिचिएको भिडियोको मेकिङ उच्च स्तरको रहेको छ। खराब मौसमका बीच टिमले गरेको मिहिनेत भिडियोमा स्पष्ट देख्न सकिन्छ।
पल र सजिनाको केमेष्ट्रीसँगै मनाङका दृश्यलाई अझ सुन्दर देखाउन छायाँकारले गरेको काम पनि प्रभावशाली छ। किरण थापाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो पवन सुस्लिङले खिचेका हुन्। भिडियोको सम्पादन पवन सुस्लिङ र प्रवेश खत्रीले संयुक्त रूपमा गरेका छन्। साथै, प्रोजेक्ट म्यानेजरको रूपमा प्रवेश खत्रीले मनाङमा पाँच दिनसम्म टिमको व्यवस्थापन गर्दै भिडियो निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।