प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्म ‘बिगुल’को प्रचार–प्रसार तीव्र बन्दै गएको छ।
रमेश कोइरालाको निर्देशनमा बनेको यो फिल्म ९ माघदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। समसामयिक राजनीतिक अवस्थासँग मिल्दोजुल्दो विषयवस्तु उठाएको ‘बिगुल’को फस्टलुक पोस्टर, टिजर र ट्रेलरले दर्शकको ध्यान तानिरहेका बेला निर्माण टिमले पूर्वी नेपालमा दर्शक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ।
निर्देशक रमेश कोइराला र कथाकार तथा निर्माता दिनेश कोइरालाले विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड हुँदै हेटौंडा र चितवनसम्म पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरेका हुन्। करिब एक साता लामो मोफसल टुरका क्रममा उनीहरूले फिल्मप्रति दर्शकको चासो र प्रतिक्रिया बुझ्नुका साथै फिल्म हेर्न सबैलाई आह्वान गरेका छन्। देशको समसामयिक राजनीति, जनचासो, हक–अधिकार, सामाजिक न्याय र पारिवारिक दायित्वलाई उजागर गर्ने फिल्मको प्रचारमा जेसिसलगायत सामाजिक संस्थाले पनि साथ दिएका छन्।
मोफसल टुरकै क्रममा निर्माण टिमले फिल्ममा समावेश लोकभाकाको गीत ‘बनको कोइली बनैमा रमायो’ शुक्रबार सार्वजनिक गरेको हो। यशराज गचर र ऋचा थापा फिचर्ड उक्त गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर, मनोज चौलागाईंको शब्द तथा संगीत र कमल राईको कोरियोग्राफी छ।
निर्माता दिनेश कोइरालाका अनुसार अब केही दिनमै मध्य तथा पश्चिम नेपालमा पनि दर्शक भेटघाट कार्यक्रम गरिनेछ। ‘भुइँमान्छेको कथा’ र समृद्ध नेपालको कल्पनालाई उजागर गर्ने फिल्म ‘बिगुल’मा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्माको अभिनय छ। बरिष्ठ अभिनेता रविन्द्र खड्का विशेष भूमिकामा देखिएका छन्।
म्याग्नोलिया ग्रुपको ब्यानरमा बनेको फिल्ममा महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता छन्। प्रदीप भारद्वाज र मौनता श्रेष्ठले पटकथा तथा संवाद लेखेका हुन्। काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्ने फिल्मको छायांकन शिव ढकालले गरेका छन्। नृत्य निर्देशन कमल राई र कविराज गहतराज, द्वन्द्व निर्देशन एनभी महर्जन, संगीत विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको रहेको छ। फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन्।