काठमाडौं ।
नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले हिन्दी फिल्ममार्फत अन्तर्राष्ट्रिय अभिनय यात्राको सुरुआत गर्ने भएकी छन्। उनले हिन्दी फिचर फिल्म ‘रिमझिम गिरे सावन’मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता गरेकी हुन्। हालै काठमाडौंमा भएको सम्झौतासँगै वर्षाको हिन्दी फिल्म डेब्यु औपचारिक रूपमा तय भएको हो।
सन् २०१६ मा व्यावसायिक रूपमा सफल फिल्म ‘नाइँ नभन्नु ल ४’बाट अभिनय यात्रा सुरु गरेकी वर्षाले ‘छक्का पन्जा’, ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘दाल भात तरकारी’ जस्ता सफल फिल्ममार्फत नेपाली फिल्म उद्योगमा बलियो पहिचान बनाइसकेकी छन्। नेपाली फिल्ममा स्थापित वर्षाका लागि यो विदेशी भाषाको फिल्ममा पहिलो मुख्य भूमिका हो, जसले उनलाई अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढाएको छ।
उत्तरी सिक्किमको लाचुङ क्षेत्रको दुर्गम तर रमणीय पहाडी भूभागमा आधारित ‘रिमझिम गिरे सावन’ एक सामाजिक ड्रामा हो। नेपाली समुदायको परिवेश समेटिएको फिल्मले मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा ‘रिमझिम क्षेत्री’को सङ्घर्षपूर्ण जीवनकथा प्रस्तुत गर्छ। सो पात्रको भूमिकामा वर्षा राउत देखिनेछिन्। निर्देशक अर्नब पलका अनुसार फिल्मले प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि एक महिलाले गर्ने भावनात्मक तथा साहसी सङ्घर्षलाई केन्द्रमा राख्छ।
फिल्मको निर्देशन बङ्गाली फिल्म उद्योगका बहुआयामिक निर्देशक अर्नब पलले गर्दैछन्। उनले यसअघि ‘तान्त्रिक’ जस्तो क्राइम थ्रिलर र ‘मेघमल्लार’ जस्ता भावनात्मक फिल्म निर्देशन गरिसकेका छन्। ‘वृष्टि तोमाके दिलाम’मार्फत नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका पल सान्टियागो इन्टरनेशनल ग्लोबल फिल्म अवार्ड्सलगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवमा पनि सम्मानित भइसकेका छन्।

फिल्ममा बलिउडका स्थापित कलाकारहरू सुब्रत दत्त, राजेश शर्मा, आशिष विद्यार्थी र यशपाल शर्मा मुख्य भूमिकामा रहने निश्चित भइसकेको छ। रिमझिमकी दिदी ‘रुन्झुन’को भूमिकामा कोलकाताकी अभिनेत्री सुस्मिता बसुमता देखिनेछिन् भने ‘सावन’को भूमिकाका लागि एक चर्चित बलिउड अभिनेता छनोटको प्रक्रियामा रहेको निर्माण पक्षले जनाएको छ।
आफ्नो नयाँ यात्राप्रति उत्साहित वर्षाले भनेकी छन्, “मेरो अभिनय क्षमतालाई चुनौती दिने भूमिका पाएकी छु। हिउँले ढाकिएको कठिन भूगोलमा छायाङ्कन चुनौतीपूर्ण भए पनि यो मेरो लागि सिक्ने र अगाडि बढ्ने अवसर हो। भारतमा ख्याति कमाएको टिम र बलिउड कलाकारसँग काम गर्न पाउनु गर्वको विषय हो।”
निर्देशक पलका अनुसार वर्षाको छनोट उनको अभिनय क्षमताका आधारमा गरिएको हो। पात्र हिन्दी बोल्ने तर नेपाली लवजमा हुनुपर्ने भएकाले नेपाली कलाकार उपयुक्त देखिएको उनले बताए। उनले वर्षालाई मनीषा कोइरालापछि हिन्दी सिनेमामा सशक्त नेतृत्वदायी भूमिका निभाउने नेपाली अभिनेत्रीका रूपमा चित्रण गरेका छन्।
फिल्मको पटकथा भेट्रान लेखक राकेश कुमार त्रिपाठीले तयार पारेका हुन्। सन् २००२ देखि लेखन र गीतकारका रूपमा सक्रिय त्रिपाठीका ७०० भन्दा बढी गीत र १५ टेलिभिजन शृङ्खलाहरू छन्। उनको अर्को फिल्म ‘तुम रहे ना तुम’ सन् २०२६ मा रिलिज हुने तयारीमा छ।
प्राविधिक पक्षमा भारतीय राष्ट्रिय पुरस्कार विजेता डिओपी असिम बोस, सम्पादक अर्घ्य कमल मित्र र कला निर्देशक अतनु साहा आबद्ध छन्। १२ वर्षभन्दा बढी अनुभव बटुलेकी नाङ एनी गोगोईले लाइन प्रोड्युसर तथा कस्ट्युम डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्। नेपालतर्फबाट रामगोपाल तिमल्सिना र नृपेश रुपाखेती प्रोडक्सन म्यानेजरका रूपमा संलग्न छन्।