आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ट्रेलर सार्वजनिक गर्दै फिल्मको एक्सन–सस्पेन्स कथावस्तुको झलक प्रस्तुत गरेको हो।
सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख द्वन्द्व दृश्य, रहस्यमय कथानक र पात्रहरूबीचको सम्बन्धलाई प्राथमिकताका साथ देखाइएको छ। ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठ सशक्त एक्सन अवतारमा देखिएका छन् भने अभिनेत्री अञ्जना बराईलीसँगको केमेस्ट्री पनि प्रस्तुत गरिएको छ। अञ्जना फिल्ममा प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिन्छिन्।
ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको पनि उपस्थिति छ।
ट्रेलर सार्वजनिकपछि निर्देशक विजय केरुङले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन्। “फिल्मको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो। एक्सनसँगै सामाजिक सन्देश बोकेको यो फिल्मले दर्शकलाई बाँध्नेछ,” उनले भने।
फिल्म ‘परिवर्तन’ले सत्ताका लागि नेताहरूले जुनसुकै हदसम्म जान सक्ने यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको छ। दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील श्रेष्ठ र अञ्जना बराईलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे मुख्य भूमिकामा छन्।
एक्सन–सस्पेन्स विधामा निर्माण भएको फिल्मको निर्देशन विजय केरुङले गरेका हुन्। दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन्।
फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। यसअघि सार्वजनिक पोस्टर, टिजर र ‘पाकेको चिउरी’ बोलको गीतले दर्शकमाझ चासो बढाइसकेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ।